सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट दुई वर्षे बालिकाको मृत्यु

बाजुरा । बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो ।

आइतबार आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेशनमा राखिएकी बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा जेठ १५ गते साँझ राखिएको थियो । ८ दिन अगाडि उनको परिवार भारतबाट आएका थिए । बालिकाको मृत्यु कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतवार १५:५२