सूचनाको शक्ति - The Power Of Information

        

सहकारीमार्फत ४७४ कर्मचारीको कोरोना बीमा

जुम्ला । कोभिड–१९ बीमालेखको व्यवसायीक कोरोबार शुरु गरेयता कर्णालीका ठुला सहकारी संस्थामार्फत आफ्ना कर्मचारीहरुको कोरोना बीमा गर्न थालिएको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ सहकारीले ६५ जना, कर्णाली प्रदेश सुर्खेतमा रहेको बौद्ध सहकारीले २०३ जना, वातावरण सहकारीले १०० जना र मुगुमा रहेको छाँयानाथ सहकारीले १०६ जना सहकारीका कर्मचारीको एक लाखका दरले कोरोना बीमा गरेका छन् ।

कर्णाली प्रदेशमा कोरोना फैलिएसँगै यहाँका सर्वसाधारण नागरिकदेखि जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र निजामती कर्मचारीसमेतले सो बीमा गरिसकेका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश प्रबन्धक ऋषिराम पाण्डेका अनुसार बीमा समितिले बीमक संघसँगको सहकार्यमा बैशाखदेखि बीमालेख जारी गरेको थियो । त्यसपछि निर्जिवन बीमा कम्पनीहरूले आफ्नो लघुबीमा पुलमार्फत यो बीमाको व्यवसायीक कारोबार सुरु गरेका थिए ।

बीमा समितिले लघुबीमा अन्तरगत यो बीमालेख ल्याएको थियो । बीमा कम्पनीहरुले लघुबीमालाई पुलमार्फत सञ्चालन गरेको हुनाले यो बीमा पनि सोही पुलमार्फत सञ्चालन गर्ने सहमति भएको थियो । प्रबन्धक पाण्डेका अनुसार एक जना व्यत्तिले ५० हजार र एक लाखको बीमांकमा बीमा गर्ने व्यवस्था गरिएको छ । ५० हजारको बीमा गर्दा ५०० र एक लाखको बीमा गर्दा १००० बीमा शुल्क लाग्ने प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए ।

यद्यपि, परिवारको सामुहिकरुपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छुट दिइने र कोरोना भाइरसबाट संक्रमित भई यसका लागि नेपाल सरकारले निर्धारण गरे अनुसारको पिसिआर परीक्षण गरी सम्बन्धित चिकित्सकबाट परीक्षणको नतिजा पोजिटिभ भई कोरोना रोग लागेको पुष्टि भएमा दावी भुक्तानी योग्य हुने शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । कर्णाली प्रदेशभित्र नौसय जना घरपरिवारले कोरोना बीमा गरेको प्रबन्धक पाण्डेले बताए ।

गत जेठ १८ गते जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा गरिसकेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगरप्रमुख सेजुवाल, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडासदस्यले एक–एक लाख रुपैयाँको कोरोना बीमा गरिसकेका छन् । क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्यावश्यक रहेको समन्वय उपप्रमुख लालबहादुर सार्कीले बताए ।

बन्दाबन्दीको समयमा घरभित्रै बसेर कसरी भविष्यमा कोरोनाको संकटबाट आफूलाई बचाउन कोरोना बीमा गर्ने त ? यसका लागि सबैभन्दा पहिले कोरोना बीमा के हो र यसले कसरी सेवा दिन्छ ? त्यसबारेमा प्रबन्धक पाण्डेले भने, ‘नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको कोरोना बीमाले विशेष गरी कोरोना पुष्टि भएका बिरामीलाई बीमाअनुसार निःशुल्क उपचार गर्ने नभएर बीमाबराबरको रकम उपलब्ध गराउने गर्दछ ।’ उनका अनुसार कोरोना बीमा गर्दा र कोरोना पोजिटिभ देखियो भने बिमित व्यक्तिले बीमा रकमको दाबी भुक्तानी पाउनेछन् ।

किन गर्ने कोरोना बीमा ?

मुलुक कोरोनाको कहरबाट थप भयभीत हुँदैछ । त्यसमाथि हाम्रोजस्तो विकासोन्मुख देशमा सामान्य दिनमा पनि औषधि नपाएर मर्नेको संख्या कुल जनसंख्याको २० प्रतिशत छ । यस्तो अवस्थामा कोरोनाको संक्रमण फैलिँदै जाँदा आर्थिक संकट पनि उस्तै चुलिन सक्छ । आर्थिक संकट र कोरोना संक्रमण दुवैको सामना गर्नुपर्ने अवस्था आएको खण्डमा कोरोना बीमाले तपाईंलाई केही राहत दिन सक्दछ ।

अहिले विभिन्न संघसंस्थाहरूले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । भविष्यमा रोजगार गुम्ने खतरा सबैमा मडारिइरहेको अवस्थामा तपाईंलाई कोरोना संक्रमण भइहाले पनि तपाईंले बीमा गरेको खण्डमा ५० हजारदेखि एक लाख रुपैयाँसम्मको रकम पाउनुहुनेछ । यसले तपाईंलाई औषधि खाने पैसाको जोहो हुन सक्छ ।

कस्तो अवस्थाका बिरामीलाई बीमाले समेट्छ ?

यस्तो बीमाले कोरोना संक्रमण पुष्टि भएका सबै बिरामीलाई समेट्छ । पाण्डेका अनुसार कोरोना लागे वा नलागेको अवस्थामा तपाईंले बीमा गराउनुभएको छ भने बीमा गरेको १५ दिनपछाडि कोरोना संक्रमण देखिएमा बीमा कम्पनीले कतिको बीमा गरेको हो, सोहीअनुसारको बीमा रकम तुरून्त भुक्तानी गर्छ । वास्तवमा कोरोना संक्रमितको स्वास्थ्य अवस्था हेरेर नभएर यसले संक्रमण पुष्टि हुनेबित्तिकै बीमा गरेबापतको रकम दिन्छ ।

सर्वसाधारणले गर्दा कति शुल्क लाग्छ ?

सर्वसाधारणले कोरोना बीमा गराउँदा दुई प्रकारका बीमा छनोट गर्न सक्नेछन् । पहिलो ५० हजार रुपैयाँ बराबरको र दोस्रो एक लाख रुपैयाँ बराबरको बीमा । ५० हजारको बीमा गराउँदा परिवारसहित जम्मा ३०० रूपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ भने ५० हजार रुपैयाँको एकल बीमा गर्दा ५०० रूपैयाँ तिरेर कोरोना बीमा गर्न सकिन्छ । त्यस्तै, १ लाखको बीमा गर्दा परिवारसहितको ६०० रुपैयाँ लाग्छ भने एकल बीमा गर्दा एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसका लागि नेपाली नागरिकताको प्रतिलिपी, फोटो र बीमावापतको रकम चाहिन्छ ।

कसरी पाउने सेवा ?

अहिले जीवन बीमा तथा निर्जिवन बीमा कम्पनीहरूले कोरोना बीमा गराइरहेका छन् । तीमध्ये जुनसुकै बीमा कम्पनीमा सम्पर्क गरेर कोराना बीमा गराउन सकिन्छ । बीमा गराइसकेपछि बिमित व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएमा पुष्टि भएको रिपोर्टले दाबी भुक्तानी गर्न सकिने र शिखर बीमा कम्पनीका जुन शाखाबाट पनि तुरून्त बीमा बापतको रकम भुत्तानी पाउने व्यवस्था रहेको छ । यसरी दाबी गर्नका लागि तपाईंले अनलाइनबाटै पनि बीमा दाबी गर्न सकिन्छ । अहिले विभिन्न बीमा कम्पनीहरूले अनलाइनबाटै बीमा र दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरेको प्रबन्धक पाण्डेले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतवार १५:४६