सूचनाको शक्ति - The Power Of Information

        

समपूरक र विशेष अनुदानका लागि उपमहानगरको पहल

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नेपालगन्ज उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले सम्पूरक र विशेष अनुदान शिर्षकमा वजेट विनियोजनका लागि केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको नगर प्रमुख राणाले जानकारी दिए । बैठकले नेपालगन्जको त्रिभुवन चोकमा स्तम्भ निर्माण गरि राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको पनि उनले जानकारी दिए । बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपालगन्जको धम्बोझीमा वाटरपार्क छिट्टै सञ्चालनमा आउने भएको छ । कार्यपालिका बैठकले वाटरपार्क संचालनका लागि ठेक्का आव्हान गर्ने निर्णय गरेको छ । बैठकले फोहोरमैला ब्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरि थालनी गर्ने र गोबर ग्याँसमा अनुदान दिने निर्णयसमेत गरेको बैठकपछि उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

उपमहानगरपालिकामा दरबन्दी भन्दा बढि कर्मचारी भएको सम्बन्धमा पुनरावलोकन गरि बढि भएका कर्मचारीलाई रमाना दिने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले राजश्व शाखा सुचारु गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर २० मा खानेपानी आयोजनाको काम अघि बढाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतवार १५:११