सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा एकैदिन ६३ जनामा देखियो कोरोना

बाँके । कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा ३७ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बिश्वराज काफ्लेका अनुसार शनिबार रातिसम्म संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् । यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ । आजै पर्सामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै संक्रमितको केन्द्रीय स्वास्थ्य मन्त्रालयले औपचारिकरुपमा जानकारी दिन बाँकी रहेको छ । हालसम्म २१९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ७ जनाको कोरोनाका कारण मृत्यु समेत भइसकेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतवार ०८:०३