सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

बाँके । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

प्रवक्ता डा.देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १२४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् । यस्तै धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् । विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ ।

विराटनगरको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ । यसैगरी प्रदेश नम्बर १ मा १३०, प्रदेश नम्बर २ मा ४४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी १ हजार १७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताए ।

पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७२९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५७५ र आरडिटी विधिबाट १ हजार ५७७ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ११ हजार ७४७, प्रदेश नम्बर २ मा ६ हजार ८१८, बागमती प्रदेशमा २५ हजार २३१ र गण्डकी प्रदेशमा ८ हजार ४५८ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा २० हजार १८५, कर्णाली प्रदेशमा १२ हजार ९९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६१७ जनाको आरडिटी परीक्षण भएको छ । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४०० थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको प्रवक्ता देवकोटाले बताए ।

यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ । अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १८:०९