काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गत मानवअधिकार सम्बन्धी उच्चायुक्तको कार्यालयले नेपालमा हालै भएका जातीय हिंसाका घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको छ । पश्चिम रुकुमको चौरजहारीमा युवतीलाई लिन गएका नवराज बिकसहित पाँचजनाको हत्या भएको घटनाबाट आफू स्तब्ध भएको मानवअधिकार उच्चायुक्त मिसेल बाचलेले उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘२१ औँ शताब्दीमा पनि जातीय आधारमा हुने विभेद कायम रहनु अति चिन्ताको विषय हो । जातका आधारमा हुने हिंसा नेपालमा मात्रै नभएर अरु देशमा पनि अझै कायम रहेको छ । यस्ता विभेदले प्रायः गम्भीर नोक्सानी गर्ने गर्छन् । कतिपय अवस्थामा ज्यान नै जान्छ । दीगो विकास लक्षले कसैलाई पछि नछोड्ने उद्देश्य पूरा गर्नका लागि जातका आधारमा हुने हिंसा अन्त्य हुनुपर्छ ।’
जातका आधारमा व्याप्त पूर्वाग्रहका कारण सँगै जीवन बिताउने सपना चकनाचुर भएका युवाप्रति आफ्नो सहानुभुति रहेको उनले उल्लेख गरेकी छन् । उनले रुपन्देहीमा १३ वर्षकी दलित बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति पनि गम्भीर दुःख व्यक्त गरेकी छन् । उनले यी घटनाको स्वतन्त्र छानबिनको माग गरेकी छन् । पीडित र उनीहरुका परिवारको सत्य थाहा पाउने र न्यायको अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेकी छन् ।
सत्यपाटी ।