सूचनाको शक्ति - The Power Of Information

        

दशगजामा नेपालीलाई खाना खुवाउँदै नेपालगन्जका युवा

बाँके । भारतमा कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला त्यहाँ रहेका नेपाली मजदुर काम छाडेर घर फर्किन थालेका छन् । भारतबाट फर्किने मजदुरहरुको अहिले जमुनाह नाकामा निकै भीड बढेको छ । भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई समेत हम्मेहम्मे पर्ने गरेको छ । भीड व्यवस्थापनका लागि सशस्त्र प्रहरीसमेत खटिएको छ ।

स्थानीय प्रशासनले जमुनाहा नाकाबाट हालसम्म १५ हजार नागरिक नेपाल भित्रिइसकेका छन् । ‘नेपालीहरु भित्रिने क्रम अझै रोकिएको छैन,’ इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायव निरीक्षक माधव रिजालले भने । रोजगारीका लागि भारत गएका धेरै नेपालीहरु ज्यान जोगाउन स्वदेश नै फर्किनुपर्छ भन्दै नेपाल फर्किरहेका छन् ।

जमुनाहा नाकाबाट भित्रिने अधिंकाश नेपालीहरु कर्णाली प्रदेशका रहेका छन् भने बाँके, दाङ्ग, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका नेपालीहरु पनि जमुनाहा नाका हुँदै घर फर्किरहेका छन् । अन्य समयमा भन्दा अहिले भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको प्रहरी नायव निरीक्षक रिजालले बताए ।

भारतबाट आउने नेपालीहरुका लागि स्थानीय सरकारले खाना र बस्नको लागि उचित व्यवस्थापन गर्न सकेको छैन । भारतका विभिन्न ठाउँबाट फर्किने क्रममा भोकभोकै दशगजासम्म आइपुगेका नेपालीहरुलाई नेपालगन्जका युवाहरुले खाना खुवाउन थालेका छन् । भारतबाट आएर दुख पाइरहेका नेपालीलाई खाना खुवाउन यहाँका युवाले अभियान सुरु गरेका हुन् ।

नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दशगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान सुरु गरिएको अभियानका संयोजक आतक बस्नेतले बताए । उनका अनुसार बिहिबार र शुक्रबार गरी ३२६ जनालाई खानाको व्यवस्था गरिएको थियो ।

नेपालगन्जको बुद्धदय क्लबका सदस्यहरुले नै खाना बनाएर भारतबाट आइरहेका नेपालीलाई खाना बनाउने गरेका छन् । सचिव कविराज रम्तेलको नेतृत्वको क्लबका सदस्यले सक्रिय भएर काम गरिरहेको संयोजक बस्नेतले बताए । भारतबाट फर्किने नेपालीहरुका लागि दशगजामै दालभात, तरकारी, भेज बिरयानी, पानी, जीवनजलको व्यवस्था गरिएको छ ।

क्याप्टेन विजय लामा, नायिक नम्रता श्रेष्ठ, नायक कर्मा, मीनबहादुर भाम, पुकार बम लगायतका कलाकार सम्वद्ध हाम्रो सानो प्रयास अभियानले सीमा नाकामा भारतबाट आएर बसिरहेका नेपालीलाई खाना खुवाउन सहयोग गरिरहेको संयोजक बस्नेतले बताए । ‘अहिले एक सातासम्म खाना खुवाउने योजना छ,’ बस्नेतले भने ।

अन्य क्षेत्रबाट पनि सहयोग आए अभियानलाई बन्दाबन्दीको अवधिभर सञ्चालन गर्ने योजना रहेको बस्नेतले जानकारी गराए । भारतले रेलसेवा खोलेसँगै दैनिक सयौं नेपाली भारतबाट घर फर्किरहेका छन् । भारतमा श्रम गर्ने नेपालीको भीड नाकामा बढदै गएपछि स्थानीय तहलाई व्यवस्थापन गर्न निकै चुनौति भइरहेको छ ।

घर फर्किने नेपालीहरुको संख्या धेरै भएसँगै नेपालमा कोरोना संक्रमणको दर पनि बढेको छ । भारतबाट आउने नेपालीलाई केहि दिन दशगजा क्षेत्रमा राखेर परिक्षणपछि मात्रै नेपाल भित्र्याउने गरिएको छ । भारतबाट आउने श्रमिकले पाएको दुख सामाजिक सञ्जाल र मिडियामार्फत जानकारी पाएपछि अभियानको सुरुआत गरेको बस्नेत बताउँछन् ।

उनले भने, ‘भारतबाट आउने धेरैले भोकै बसेको थाहा भयो । उनीहरु खाना नपाएर भोकै बस्नुपर्ने अवस्थामा विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि हामीले अभियानको सुरु गरेका हौं । यसलाई निरन्तरता दिने प्रयास गछौं ।’ भारतबाट आएका नेपालीहरुलाई सम्बन्धीत प्रदेश सरकारसँग समन्वय गरेर बाँके प्रशासनले गन्तव्यमा पुर्याउँदै आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १०:३८