सूचनाको शक्ति - The Power Of Information

        

‘कर्तव्य भूमिमा ढले पनि पिर छैन’

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाका वडा नं. ८ का अध्यक्ष खुमबहादुर बस्नेत कोरोना सङ्क्रमित भएपछि अहिले आइसोलेशन केन्द्रमा छन् । आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ । ‘जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रत्तिभर पिर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवानसँग प्रार्थना गर्छु, कसैलाई पनि केही नहोस्,’ उनले जनतालाई सान्त्वना दिँदै भनेका छन्, ‘नआत्तिऔँ, बरु सावधानी अपनाऔँ ।’

भारतको कोरोना सङ्क्रमित शहरबाट फर्किएका जनतालाई भारतीय शहर रुपैडिहासम्म पुगेर वडाको क्वारेन्टाइनमा पुर्याउने र क्वारेन्टिनमा बसेका नागरिकको सेवामा खटिँदै आएका उनको दुई दिनअघि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनुपरेकामा आफू कहीँकतै दुःखी नभएको बताउँदै उनले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्नेक्रममा आफू भाइरसको सङ्क्रमणमा परे पनि वडावासीलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

‘जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यानै जोखिममा राखेर यथाशक्य प्रयास गरेकै हो, तर स्वास्थ्य शाखाको चरम लापरबाहीका कारण हिजो क्वारेन्टाइनमा बसेका मान्छेहरु डिस्चार्ज भएकोमा सबैसामु माफी चाहन्छु,’ उनले भनेका छन्, ‘क्वारेन्टाइन व्यवस्थापनमा खानपिन, बसाइ लगायतको व्यवस्थापन वडाबाट हुँदै आएको थियो, सुरक्षासम्बन्धी व्यवस्थापन सुरक्षा निकायले हेर्दै आयको थियोे भने क्वारेन्टाइनमा आउने मान्छेको भर्ना जाँच अनि डिस्चार्जको जिम्मा स्वास्थ युनिटको हो ।’

वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्क भएको हुनसक्ने आशङ्कामा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई वडा नं.३ स्थित आश्रय भवनको क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनका अनुसार कोरोना पोजेटिभ आएका सबै व्यक्तिलाई आइसोलेशनमा राखिएको छ । कोरोना सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब सङ्कलन गर्ने कार्य भइरहेको छ ।

https://www.facebook.com/khum.basnet.98/posts/2654785388135380

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा देखिएको कोरोना सङ्क्रमण बाँके जिल्लाभर बढ्दै गएको छ । गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगन्जमा कोरोना सङ्क्रमण देखिएको थियो । पहिलो सङ्क्रमित भेटिएको एक महिनाको अवधिमै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर १८१ पुगेको छ । शुक्रबार मात्रै बाँकेको डुडुवा गाउँपालिकाका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नेपालगन्जबाट शुरु भएको सङ्क्रमणकोक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा हुँदै बैजनाथ गाउँपालिकासम्म फैलिन पुगेको छ ।

नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको प्रमुख केन्द्र बनेको छ । नरैनापुरमा मात्र शुक्रबारसम्म एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालगन्जमा २७, डुडुवामा १८, राप्तीसोनारीमा १२, बैजनाथमा सात र खजुरामा तीन जना कोरोना सङ्क्रमित भेटिएका छन् । आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा अहिलेसम्म सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेका सङ्क्रमितमध्ये पाँचको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ भने अन्यको बाँकेकै विभिन्न अस्पताल तथा आइसोलेशन केन्द्रमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितमध्ये खजुरास्थित कोरोना विशेष अस्पतालमा १०, लायन्स डेन्टल अस्पतालको आइसोलेशन केन्द्रमा २३, कृषि तालीम केन्द्र खजुराखुर्दको आइसोलेशन केन्द्रमा ३९, कोहलपुर पिपिरीस्थित कृषि विकास बैंकको आइसोलेशन केन्द्रमा ४१, राप्तीसोनारीको आइसोलेशन केन्द्रमा ११, साहापुरुवा डुडुवाको आईसोलेशन केन्द्रमा १८ र बैजनाथको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशन केन्द्रमा सात जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १०:१७