सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो, २०६ जना संक्रमणमुक्त

बाँके । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँग नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ ।

नेपालमा आज शुक्रबार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, रौतहटका ५६, कपिलवस्तुका ५१, बाँकेका १०, पर्साका ५, सर्लाहीका ५, सप्तरीका ४, बाराका ४, दाङमा २, नवलपरासीका २, रुपन्देहीका १ र म्याग्दीका १ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन् ।

उनीहरुमध्ये १६५ जना पुरुष र ५ जना महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । तीमध्ये २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने देशभर हाल आइसोलेसनमा १ हजार जना रहेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २३८ र आरडिटी विधिबाट ३ हजार ४४४ वटा परीक्षण भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ६४ हजार १५४ र आरडीटीबाट १ लाख ५ हजार ४७८ वटा परीक्षण भएको जानकारी दिए । डा.देवकोटाका अनुसार हाल देशभर ९९ हजार ३३६ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १७:५२