सूचनाको शक्ति - The Power Of Information

        

चौरजहारी नरहत्या : यस्तो छ अधिकारकर्मी संघसंस्थाको अध्ययन प्रतिवेदन

बाँके । जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्न कानून बनेको ६ दशक पुग्न लाग्यो । विक्रम संवत् २०२० भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पहिलोपटक छुवाछुत अन्त्य गरेको थियो । जातीय भेदभाव गरेमा कसूर ठर्हयाइ सजाय हुने व्यवस्था भयो । जातीय भेदभाव गर्न नपाइने र दलित समुदायका व्यक्तिको अधिकारलाई मौलिक हकका रुपमा नेपालको संविधानमा नै सुरक्षित गरिएको छ ।

संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्थाका साथै धारा ४० मा दलितको हकको व्यवस्था छ । दलित समुदायको हकहितका लागि संवैधानिक अंगका रुपमा राष्ट्रिय दलित आयोग छ, जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ पनि कार्यान्वयनमा छ तर पनि छुवाछुत र जातीय भेदभावकै कारण हत्यासम्मका घटना घट्ने क्रम भने रोकिएको छैन ।

संविधान र कानूनले जातीय भेदभावलाई अन्त्य गरेको छ, विभेद गर्नेलाई ३ वर्षसम्म कैद हुने व्यवस्था छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ को दफा ७ को १ (क) मा व्यवस्था छ तर पनि समाजमा इतिहासदेखि रहेको छुवाछुत कहिल्यै अन्त्य भएन । घटनामा पाँच जनाको शव भेटिएको छ भने एक जना भेरी नदीमा बेपत्ता छन् । यसको वास्तविकता के हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रुकुम (पश्चिम) चौरजहारी सोतीमा गत शनिवार एउटा भयानक घटना भयो । जाजरकोटका केटा (दलित समुदाय) र सोतीकी केटी (मल्ल थर) बीच प्रेम सम्बन्ध थियो । युवाका आफन्त र साथीले गरेको दाबी अनुसार उनीहरूबीच गहिरो प्रेम सम्बन्ध भएपछि केटी जाजरकोटमा रहेको केटाको घरमा पुगेर बाससमेत बसेको देखिन्छ । उनीहरूबीच प्रेम सम्बन्ध कुनै क्षणिक प्रकृतिको नभएर बिहे गर्नेसम्मको भएको बुझिन्छ ।

दुवै परिवार उनीहरूको प्रेम सम्बन्धबारे जानकार थिए, सकेसम्म केटी पक्ष केटालाई पन्छाउन चाहन्थे तर कसरी पन्छाउने ? साथै सम्बन्ध जारी राखेमा केटालाई ज्यानसम्म लिने धम्की दिएका समाचार बाहिर आएका छन्, यति हुँदासम्म पनि उनीहरूबीच प्रेम टुटेन । केटाका साथीहरू केटीले नै बिहेका लागि बोलाएपछि १८ जना युवा सोती प्रस्थान गरेको दाबी गर्छन् तर सोती पुगेलगत्तै ती युवामाथि केटी पक्षबाट आक्रमण भएको साथीहरूको भनाइ छ ।

त्यसपछि अवस्था भयानक भयो, हत्या गरेर भेरी नदीमा फालिएको केटा पक्षको दाबी छ तर त्यसलाई सोतीका केटी पक्षले खण्डन गरेका छन् । दुलहा बन्ने तयारीमा रहेका युवा समेतको ज्यान गयो, केहीलाई पक्राउ गरी प्रहरीमा बुझाएको भनिएको छ, पक्राउ पर्नेहरूमा दुलहा बन्ने युवा किन परेनन् भन्ने प्रश्न पनि गम्भीर रुपमा आउँछ । केटा दलित परिवारको भएकै कारण यस्तो गम्भीर र अमानविय घटना घट्न पुग्यो । घटनाले हाम्रो समाजमा व्याप्त जातीय विभेदको गहिराइको चित्रण गर्छ ।

रुकुम(पश्चिम) चौरजहारी घटनाका विषयमा विभिन्न आठ वटा दलित अधिकारकर्मी संघसंस्थाले घटनास्थलको स्थलगत अध्ययन र अनुमगन गरी प्रतिवेदन पनि सार्वजनीक गरेका छन् । नेपाल दलित मुक्ति संगठन ५ नं.प्रदेश, नेपाल दलित मुक्ति संगठन बाँके, नेपाल दलित संघ बाँके, गैरसरकारी संस्था महासंघ ५ नं.प्रदेश, दलित गैरसरकारी संस्था महासंघ, नेपाल दलित मुक्ति संगठन बाँके, दलित महिला संघ बाँके र नेपाल दलित मुक्ति संगठन बाँकेले घटनाको अध्ययनपछि सार्वजनीक गरेका हुन् ।

यस्तो छ, चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन–२०७७

https://satyapati.com/wp-content/uploads/2020/05/चौरजहारी-घटनाको-स्थलगत-अध्ययन-प्रतिवेदन-२०७७.pdf

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:३१