जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमद्धारा आर्थिक अवस्था कमजोर भएका १६१ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाभित्रका बिभिन्न वडामा आरसीसी, गोरेटोबाटो, सिँचाई कुलो, ढल निकास, कृषि सडक निर्माण लगायतका काममा रोजगारी दिएको हो ।
गाउँपालिकाले तयार पारेको तथ्यांक अनुसारअति बिपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीको समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए । लामो समयदेखि बन्दाबन्दी हुँदा घरखर्च चलाउन गाह्रो भएका अतिविपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर प्रदान गरेपछि रोजगार कार्यक्रममा आबद्ध भएका मजदुर खुशी भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए ।
प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई दैनिक रु ६६० का दरले पारिश्रमिक प्रदान गरिने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । कार्यक्रमका लागि गाउँपालिकाका १ हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् । सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई रु ४२ लाख रकम सशर्त अनुदान दिएको छ । सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिने गाउँपालिकाको रोजगार शाखाले जनाएको छ ।
विजय रावत ।