सूचनाको शक्ति - The Power Of Information

        

चेतना र विवेक मारिएको चौरजहारी घटना

बेपत्ताको शव भेरीमा खोज्दै सशस्त्र प्रहरीको गोताखोर टोली ।

बेपत्ताको शव भेरीमा खोज्दै सशस्त्र प्रहरीको गोताखोर टोली ।

बाँके । बेपत्ता दुई जनाको शव भेरी नदी वा यो नदी मिसिने अन्य नदीमा हुन सक्ने अनुमान लगाउन गाह्रो छैन । ६ दिनको बीचमा भेरीमा चार जनाको शव भेटिइसकेको छ । शसस्त्र प्रहरी बलको गोताखोरले बेपत्ता बाँकी खोजिरहेको छ ।

काम थालेको पहिलो दिनमै गोताखोरले बुधबार लोकेन्द्र सुनारको शव भेटेको थियो । पश्चिम रुकुमको चौरहजारी नगरपालिका–८ सोतीमा ६ दिनअघि भएको घटनास्थलभन्दा करिब सात किलोमिटर दुरीमा लोकेन्द्र भेटिएका थिए, मृत अवस्थामा । जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर शनिबार साँझ सोती पुगेका थिए ।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दाबी छ । नवराजको शव सोही दिन राति १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनि भेटिएको थियो ।

अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदी किनारमा भेटिएको थियो । अर्का एक युवकको शव सोमबार भेरी नदीमै भेटिएको थियो । गाउँलेले समूहका १२ जनालाई सोही दिन पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।

सामाजिक सञ्जालमा आएका सोती गाउँका स्थानीयको अन्तर्वार्ताहरुलाई आधार मान्ने हो भने उनीहरुले युवती लिन आएका युवाहरुलाई खेदेर भेरी नदीको किनारमा तीनतिरबाट घेरेर ‘ट्रयाप’मा पारेको तर उनीहरु आत्तिएर नदीमा हाम फालेको बताएका छन् । समातेर प्रहरीलाई बुझाउने योजनाअनुरुप उनीहरुलाई भेरीको किनारमा पुर्याएर ट्रयापमा पारेको उनीहरुको भनाइ छ ।

यता युवती लिन पुगेका समूहका बाँचेका युवाहरुले झण्डै १५० बढी गाउँलेले हतियार लिएर लखेट्दै किनारमा पुर्याएर सबैतिरबाट घेरेपछि बाध्य भएर नदीमा हाम फालेको र पछि रहेका साथीहरुलाई निर्घात कुटपिट गरेको देखेको बताएका छन् । घटनालाई लिएर संघीय संसदमा समेत चर्को कुरा उठेको छ ।

ठकुरी र विकबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण सोतीका गाउँलेले जाजरकोटबाट आएका युवाहरुलाई कुटपिट गरेर मारी खोलामा फ्याँकेकोसम्म कुराहरु आएका छन् । ‘मान्छेको ज्यान गएको छ, कुटपिट गरेर फ्याँकेको भए पनि आफैँ हाम फालेको भए पनि । बाँकी कुरा अनुसन्धानबाट खुल्दै जानेछन्,’ घटनाको अनुसन्धान गर्न पुगेका प्रदेश–६ प्रहरीका एसएसपी पोषराज पोखरेल भन्छन् ।

प्रहरीले २० जनाविरुद्ध परेको किटानी जाहेरीमा बुधबारसम्म १२ जनालाई पक्राउ गरेको छ । बिहीबार पनि केही पक्राउ परेको पश्चिम रुकुम प्रहरीले जनाएको छ । हालसम्म युवती, युवतीका बाबुआमा, वडाध्यक्ष लगायत पक्राउ परेका छन् । युवतीप्रति सहानुभूति बढिरहे पनि घटनाको केन्द्रमा उनै रहेकाले अनुसन्धानका लागि हिरासतमा राख्नु परेको प्रहरी अधिकारी बताउँछन् ।

‘घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने कुरा अनुसन्धानले भन्छ । तर अहिले नै अनुसन्धान बाहिर राख्ने भन्ने हुँदैन,’ पश्चिम रुकुम प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन् । घटनामा संलग्न दुवै पक्षबाट बाहिर आएका कुराहरु सुन्दा जाजरकोटबाट पुगेको समूह युवतीको घर नजिकै पुगेर फर्किएपछि गाउँमा डुलिरहेका बेला लखेटिएको देखिन्छ ।

घटनाको अनुसन्धान चलिरहेका बेला विद्यमान केही अन्यौलबारे यसले के स्पष्ट पार्ने छ भनेर कौतुहल बढ्दो छ, खासगरी प्रेमिका भगाउन मात्र नवराजले साँझको समयमा त्यत्रो युवा लिएर सोती पुगेका थिए? यदि त्यसो हो भने के नवराजकी प्रेमिका भनिएकी युवतीले नै उनलाई त्यसो गर्न भनेकी थिइन् ? ती युवती आफू बाहिर नगई समूहलाई नै गाउँमा बोलाउनु पर्ने अवस्था के थियो ?

अब के हुन्छ ?

फौजदारी कानुनको मर्म हुन्छ, सय जना दोषी छुटुन् तर एक जना निर्दोष पनि नफसुन् । हालसम्म भेटिएका शवमध्ये तीन जनाको पोस्टमार्टम भइसकेको छ । आफन्तले शव पनि बुझेका छन् । पोष्टमार्टमको रिपोर्ट आइनसकेको एसएसपी पोखरेल बताउँछन् । शवको मुचुल्कामा खटिएका प्रहरी अधिकारीकाअनुसार नवराजको शरीरमा सामान्य चोट देखिन्छ भने अन्यको शरिरमा खासै चोट देखिँदैन ।

‘चोट केको हो भनेर अहिले भन्न सकिँदैन । खोलामा ढुंगाले लागेको पनि हुन सक्छ’, पश्चिम रुकुम प्रहरीका एक अधिकारी भन्छन् । एसएसपी पोखरेल पोष्टमार्टम रिपोर्ट नआई केही भन्न नसिकने बताउँछन् । पोष्टमार्टम रिपोर्टले मृत्युको कारण खुलाउने छ । अब किटानी जाहेरी परेकाहरुलाई प्रहरीले अनुसन्धानमा ल्याउने छ ।

उनीहरुको बयानसँगसँगै प्रहरीले अन्य प्रमाणहरु खोज्ने छ । घटनाको केन्द्रमा युवती रहेकाले त्यस दिन नवराजको समूह सोती किन आएको थियो र त्यसबारे युवतीलाई थाहा थियोरथिएन भन्ने उनीमाथिको अनुसन्धानले स्पष्ट पार्ने छ । ती युवतीले बोक्ने गरेको मोबाइल अनुसन्धानमा निकै उपयोगी हुने अनुसन्धान अधिकारीहरु बताउछन् ।

सरकारको छानबिन समिति

नेपालको कानुनले फौजदारी अपराधको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिएको छ । प्रहरीले अनुसन्धान गरी पेश गरेको प्रतिवेदनका आधारमा सरकारी वकिलले अदालतमा अभियोग पत्र दर्ता गर्छ । सामान्यदेखि गम्भिर प्रकृतिका अपराधको अनुसन्धानका लागि प्रहरीका युनिटहरुले काम गरिरहेका हुन्छन् । अर्थात प्रहरी हरेक अपराधको अनुसन्धानका लागि तयार हुन्छ ।

कानुनले झुटा आरोप लगाएर अनुसन्धानमा ल्याउने प्रहरी अधिकारीलाई सजायको व्यवस्था पनि गरेको छ । यसको आशय हरेक प्रहरी कुनैपनि अपराधको अनुसन्धान गर्दा गम्भिर देखिउन्, सहि अनुसन्धान गरुन् र वास्तविक दोषीलाई कारबाहीको दायरामा ल्याउन भन्ने हो । तर कानुनले व्यवस्था गरेको यी प्रावधानलाई वेवस्था गर्दै प्रहरीको क्षमतालाई नै अवमुल्यन गर्ने गरि सरकारले बेखाबखत ठुला आपराधिक घटनामा छानबिन समिती गठन गर्छ ।

निजामती कर्मचारीको नेतृत्वमा बनाइने यस्ता छानबिन समितिहरु हरेकपटक विवादमा तानिने गरेको इतिहास छ चाहे त्यो निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण होस् र सनम शाक्य हत्या तथा साढे ३३ केजी सुन बेपत्ता प्रकरण नै किन नहोस् । अधिकारप्राप्त निकायलाई थप बलियो बनाएर अनुसन्धान गर्न निर्देशन दिनुको साटो गम्भीर प्रकृतिका अपराधको अनुसन्धानको सामान्य ज्ञानसमेत नभएका अधिकारीलाई छानबिन गर्न दिने गरेको आरोप सरकारले खेप्दै आएको छ ।

सरकारले चौरजहारी घटनाको छानबिन गर्न पनि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेका नवराज सिलवाल भन्छन्, ‘मानिसको चेतना र विवेक मारिएको रुकुमको घटनाले दलितहरू मात्र हैन हामी सबैलाई असीम पीडा दिएको छ । यो आपराधिक घटना हो । कसैले राजनीति नगरौँ । अनेकथरि समिति होइन, प्रहरीको व्यावसायिक टिमलाई अनुसन्धान गर्ने जÞिम्मा दिउँ । न्याय मर्न नपाओस् !’

चौरजहारी घटनामा प्रहरीले अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले गठन गरेको समितिको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । ‘प्रहरीलाई आफ्नो काम गर्न दिउँ । गम्भीर प्रकृतिका अपराधको सामान्य ज्ञान नै नभएका मान्छेलाई छानबिन गर्न दिएर भोलि उनीहरुले दिने रिपोर्ट प्रहरीको अनुसन्धानको निष्कर्षसँग बाझियो भने ?’ एक अवकाशप्राप्त डीआईजी सरकारका यस्ता समितिमाथि प्रश्न गर्छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १८:३६