सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा संक्रमितको संख्या ८८६, प्रदेश ५ मा सबैभन्दा धेरै ३६५ संक्रमित

बाँके । नेपालमा बुधवार एकैपटक ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आज संक्रमित जिल्लाको सूचिमा प्रदेश ५ को रुकुम पूर्व पनि थपिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा रुकुम पूर्व उत्तरगंगा वडा नं. १४ का तीन जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टाइनमा रहेका एक जना १८ वर्षका किशोर र १५ वर्षकी किशोरी रहेका छन् । यस क्वारेन्टाइनबाट सात जनाको स्वाब संकलन गरिएको थियो । त्यस्तै पुथा उत्तरगंगाबाट संकलन गरिएको दुई जनाको स्वाबमध्ये एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो । उनी उत्तरगंगा १४ का २३ वर्षीय पुरुष हुन् । आजै प्रदेश ५ को दाङमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिकाबाट संकलित ८० जनाको नमुना मध्ये सात जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये घोराही १८ का २४, २५, ४०, र ४२ वर्षका पुरुष छन् । त्यस्तै घोराही १० का ३४, ४० र ४० वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै लमही क्वारेन्टाइनबाट संकलित ४७ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये लमही १ का २६ वर्षका पुरुष, २ का १७ र ३० वर्षका दुई जना पुरुष, ४ का २६ वर्षका पुरुष छन् ।

त्यस्तै लमही ५ का २० र २३ वर्षका दुई जना पुरुष र एक जना २० वर्षकी महिलामा संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । त्यस्तै लमही ६ का १८ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । आजै भेरी अस्पतालमा भएको परीक्षणमा बाँके जिल्लाका १६ जनामा पनि संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश ५ का ९ जिल्लामा संक्रमितहरुको संख्या ३६५ पुगेको छ ।

त्यस्तै प्रदेश २ का ८ जिल्लामा ३२४ जना संक्रमित भएका छन् । प्रदेश १ का सात जिल्लामा संक्रमितहरुको संख्या १०३ जना रहेका छन् । नेपालमा आज पहिलो पटक एकैदिनमा संक्रमितहरुको संख्या १०० कटेको पहिलो हो । संक्रमितमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छन् । संक्रमितहरु अधिकांश भारतबाट आएका स्थानीयहरु हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १८:०४