सूचनाको शक्ति - The Power Of Information

        

सेना परिचालन गर्न कर्णालीले माग्यो केन्द्र सरकारसँग अनुमति

सुर्खेत । भारतबाट फर्किरहेका नागरिकको उचित व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले सेना परिचालनको अनुमति माग गरेको छ । भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने भन्दै सेना परिचालनको स्वीकृति लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

भारतबाट आएका नागरिकमध्येमा संक्रमण देखिएको छ । जसले गर्दा पनि प्रदेशमा महामारी फैलिन सुरु गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा खटिरहेको भन्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रभावित हुने हुँदा सेनालाई परिचालन गर्न लागिएको जनाएको छ । ८० हजार कर्णालीवासी भारतमा रहेको र अहिले लकडाउनकै अवधिमा झण्डै ३० हजारको हाराहारीमा आउने अनुमान छ ।

तर, अहिलेसम्म प्रदेशमा आवश्यक व्यवस्थापन कमजोर भएकै कारण सेना परिचालनमा जोड दिएको हो । पछिल्ला दिनमा भित्रिएका नागरिकका लागि आवश्यक क्वारेन्टाइनको व्यवस्था छैन । प्रदेशमा अहिलेसम्म स्थानीय र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन बेड संख्या १८ हजार १६४ मात्रै छ । जसमा अहिले चार हजार १९० जना महिला क्वारेन्टाइनमा बसिरहेका छन् भने चार हजार ६६८ जना पुरुष दुवै सरकारले निर्माण गरेका क्वारेन्टाइनमा छन् ।

नाम मात्रका क्वारेन्टाइन पर्याप्त नहुँदा कर्णालीका स्थानीय र प्रदेश सरकारले भित्रिएका नागरिकको व्यवस्थापन गर्न सकेका छैनन् । प्रदेश सरकारको अनुरोधमा नेपाली सेनाले वीरेन्द्रनगरमा बनाएको ४०० क्वारेन्टाइनमध्ये २०० को मात्रै मापदण्ड पुरा छ । बाँकी मापदण्ड अनुसारका छैनन् । यसअघि चिकित्सक तथा स्वास्थ्यकर्मीले भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिन सुझाव दिएका थिए । आवश्यक बन्दोवस्तका लागि नेपाली सेनालाई नदिए कर्णालीको अवस्था भयावह हुने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १७:५६