सूचनाको शक्ति - The Power Of Information

        

चौरजहारी घटनाको छानविन गर्न एसएसपीको टोली घटनास्थलमा

बाँके । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि तीन जनाको मृत्यु र तीन जना बेपत्ता प्रकरणमा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले पक्राउ परेका १२ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको बताए ।

उनका अनुसार पीडितमध्येका एक परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु भएको छ । प्रहरीले वडाअध्यक्ष र युवतीका बुबाआमासहित गाउँलेलाई पक्राउ गरेको छ । किटानी जाहेरी परेका अन्य ८ जनाको पनि खोजी भइरहेको डीआईजी शाहीले जानकारी दिए । यसैबीच घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरीबाट एसएसपीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ ।

प्रदेश–६ का प्रहरी प्रमुख वसन्तराज पन्तले एसएसपी पोषराज पोखरेलको नेतृत्वमा प्रहरी निरिक्षकसमेत सम्मिलित टोली मंगलबार घटनास्थल पुगेको हो । घटनाले लिएर संघीय संसद चर्किरहेका बेला अनुसन्धानलाई गहन बनाउन एसएसपीको टोली पठाइएको डीआइजी पन्तले जानकारी दिए । जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए ।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ । नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको सेति नदिको पुलमुनी भेटिएको थियो । अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो । अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो ।

घटनापछि समूहका १२ जनालाई भने सोतीका गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात छ । उनिहरुले भेरी नदीमै हाम फालेको समूहका अरु सदस्यले बताएका छन् । सोती गाउँको किनारबाट बग्छ भेरी नदि । गाउँले वरिपरीबाट घेरा हालेर भेरी नदितिर मात्र भाग्ने परिस्थिति बनाएको समूहका बाँच्न सफल सदस्यहरुको भनाई छ । जाजरकोट र पश्चिम रुकुममा डीएसपीले जिल्लाको नेतृत्व गर्छन् । मृतक युवाहरुको शव पनि परिवारले बुझ्न मानेका छैनन् ।

पश्चिम रुकुममा एउटामात्र प्रतिनिधि सभा सिट छ । नेकपाका जनार्दन शर्मा प्रभाकर यो जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित हुन् । चौरजहारी नगरपालिकाका मेयर पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् । बुधबारको संसद बैठकमा जनार्दन शर्माले घटनाको निष्पक्ष छानबिन हुने भन्दै राजनीतिक रङ नदिन आग्रह गरे । घटना सम्बन्धी छानबिन गर्न सत्तारुण नेकपाको जिल्ला समितीले तीन सदस्यीय समिती गठन गरेको छ । चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । तीन दिनभित्र प्रतिबेदन बुझाउनुपर्ने जिम्मेवारी समितिलाई छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार ०७:४७