सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमन्त्री र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमितको संसर्गमा पुगेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल घरमै क्वारेन्टाइनमा बसेका छन् । बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न केही सांसदहरुसँग गएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् ।

मन्त्री ढकालको निजी सचिवालयका अनुसार स्वास्थ्य मन्त्रालयमा पनि केही संक्रमितहरु चिकित्सकहरु मन्त्रालय पुगेपछि उनी ६ दिनदेखि आफैं क्वारेन्टाइनमा बसेका हुन् । उनको परिक्षणका लागि हिजो निवासमै पुगेर स्वाव संकलन गरिएको र मंगलबार बेलुकासम्म परिपोर्ट आउनेछ उनका स्वीकय सचिव भुवन खतिवडाले जानकारी दिए ।

मन्त्री ढकाल बिहीबारदेखि मन्त्रालय आएका छैनन् । खतिवडाका अनुसार संक्रमण बढ्दै गएपछि गतिविधि कम गर्न मन्त्रालय आउने क्रम कम गरिएको हो । यता बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टिनमा राखिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टिन र ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए । अधिकांश स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेपछि आकस्मिकबाहेकका अस्पतालका सेवा बन्द भएका छन् ।

जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामी र स्वास्थकर्मीको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । स्वाब रिपोर्ट आएपछि मात्र अस्पतालको अन्य सेवा पुनःसञ्चालन हुने अस्पतालका मेसु पाण्डेले बताए । जिल्लाका गुलरिया नगरपालिकाका चार तथा बाँसगढी नगरपालिका, राजापुर नगरपालिका र बढैयाताल गाँउपालिकाका एकएक गरी सात जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १८:२२