सूचनाको शक्ति - The Power Of Information

        

यार्सागुम्बाले फेरिए दलित बस्तीका झुपडी, बदलियो जीवनशैली

सुर्मा गाउँपालिका–३ गैरीगाउँको दलीत बस्ती ।

सुर्मा गाउँपालिका–३ गैरीगाउँको दलीत बस्ती ।

बझाङ । हरेक क्षेत्रबाट पिछडिएका दलितहरु पछिल्लो समयमा सशक्त बन्दै गएका छन् । दलित समुदायका सामान्य झुपडी, फुसले छाएका घरहरु, अस्तब्यस्त बसाई भन्ने जो कोहीले ठान्छन् । तर सोचेभन्दा फरक छ बझाङको बिकट सुर्मा गाउँपालिका–३, गैरीगाउँको दलीत बस्तीमा । झट्टै हेर्दा यो गाउँ हुनेखाने, ठूलाबडाको बस्तीजस्तै लाग्छ । झण्डै ५०० परिवार दलित समुदाय रहेको यहाँका सबै घरहरु पक्की छन् ।

केही बर्षअघि खरले छाएका घरहरु अहिले पक्की भएका छन् । झुपडीहरु तीन तलासम्मका पक्की बनेका छन् । सामान्य परिवारका घरहरु पनि पक्की बनेका छन् । सबै घरहरुमा सिमेन्टको प्रयोग गरिएको छ । एकदशक अघिमात्रै गैरीगाउँमा प्रायः सबै दलितका घरहरु खरले छाएका र स–साना झुपडीमात्रै थिए । अहिले भने तीन तलासम्मका पक्की घरहरु बनेका छन् । झुपडीहरुका नामोनिसान छैन भन्दा पनि हुन्छ ।

यस क्षेत्रका स्थानीयहरुको आम्दानी यार्सागुम्बाले बढाएपछि दलित समुदायको जीवन फेरियो । सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराका अनुसार गाउँपालिकाको सबैभन्दा बाक्लो दलित बस्ती रहेको गैरीगाउँका दलित समुदायका व्यक्तिहरु यार्सा संकलन र अन्य जडिबुटीको बिक्री गरेर आम्दानी गर्न थालेपछि घरहरु पक्की भए । यसबाट दलित समुदायको जीवनस्तरमै सुधार आएको छ ।

उनीहरुको घरआँगन र अन्य घरायसी ब्यवस्थापनमा पनि सुधार भएको छ । स्थानीय तथा कार्यपालिकाका सदस्य कलक बिकका अनुसार अहिले पनि खानलाई त प्रायः सबै दलित परिवारलाई समस्या नै छ । तर घरको बनावट फेरिएपछि गैरीगाउँको सुन्दरता बढेको छ । अधिकांश स्थानीयले यार्सा संकलन गरेर दिने भन्दै ठेकदारहरुबाट सापटी पैसा मागेर घर निर्माण गरेको बताए ।

सुर्मा गाउँपालिका–३ गैरीगाउँको दलीत बस्ती ।

पछिल्लो समयमा मुक्तहलिया पुर्नःस्थापना कार्यक्रमबाट पनि यहाँका दलित समुदायले घर बनाउनका लागिका रकम पाएपछि थप सहज भएको उनले बताए । यसरी पक्की घरसँगै जीवन शैलीमा परिवर्तन भएपछि समाजमा दलितलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको उनले बताए । यार्सा संकलन हुनुअघि यहाँका ९० प्रतिशत स्थानीयहरु भारत गएर रोजगारी गर्थे । अहिले भने १० प्रतिशतमात्रै भारत जाने गरेका विकले बताए ।

आफ्नो खेतीयोग्य जमिन कम भएकाले यहाँका दलित समुदाय अहिले पनि हलिया, खलिया प्रथाबाट खाने गुजरा गर्दै आएका छन् । यस वडामा दलित समुदायको बाहुल्यता बढी हुँदा वडाध्यक्ष समेत दलित समुदायकै छन् । भौगोलिकरुपमा बिकट र दुर्गम खाद्यान्न अभाव हुने सुर्मा गाउँपालिकामा गैरदलितहरुमा पनि घर पक्की बनाउने प्रतिस्पर्धा हुँदा यस क्षेत्रमा प्रायः सबै घरहरु पक्की छन् ।

सुर्मा गाँउपालिका पिछडिएको क्षेत्र भए पनि एक दशकदेखि यार्सा तथा अन्य जडिबुटीको कारोबार हुन थालेपछि स्थानीयहरुको जीवनशैलीमा सुधार आएको गाउँपालिका अध्यक्ष बोहराले बताए । ‘अहिले यहाँका घरभित्र शौचालय तथा स्नान कक्ष छन् । घरघरमा पानीका धारा, बिजुलीले झिलीमली गाउँ र सबै टोल तथा बस्तीमा सडक बाटो पुगेको छ । केही गर्न सक्ने व्यक्तिका लागि गाउँमै धेरै अवसर आएका छन्,’ उनले भने ।

ग्रामीण भेगका नागरिकहरुमा आर्थिक अवस्थामा सुधार भएपछि जिल्लाभर देखिने परम्परागत पुराना खरले, स्लेटले छाएका घरहरु भत्काएर अहिले सुविधा सम्पन्न आधुनिक पक्की घरहरु बनाउने प्रचलन बढेको छ । यसले पनि स्थानीय नागरिकहरुको जीवनस्तरमा परिवर्तन भएको देखिन्छ । अझ गाउँगाउँमा यातायात, सञ्चार र विजुली बत्तीको सुविधा पुगेपछि शहरभन्दा गाउँमै धेरै अवसरहरु पुगेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १०:१०