सूचनाको शक्ति - The Power Of Information

        

भीडभाड बढेपछि बन्दाबन्दीमा कडाई

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि बन्दाबन्दीलाई थप कडाइ गरेको छ । प्रशासनले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा बजारमा प्रवेश निषेध गरेको छ । बाहिरबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र बन्दाबन्दीको समयमा भीडभाड बढेको भन्दै प्रशसानले कडाइ गरेको हो ।

कोरोनाको जोखिम न्यूनीकरण गर्न जुम्लामा अत्यावश्यकबाहेकका पसल खोलिएको र मानिसहरु अत्यावश्यक वस्तु किनमेल गर्ने बहानामा बढी भीडभाड हुने गरेका कारण थप कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । जारी बन्दाबन्दीको समयलाई पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा ब्यवस्था कडा गरेकोे छ ।

कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउनु नागरिकको दायित्व भए पनि नागरिकहरु मास्कबिना हिँड्डुल गर्नेजस्ता कार्य गरेकोले खाद्यान्न लगायतका अत्यावश्यकबाहेकका पसल खोलिएको पाइएमा प्रशासनले कारबाही गरिने देवकोटाले बताए । प्रशासनले आमनागरिकलाई अत्यावश्यक वस्तु खरिदका लागि दुरी कायम गरी कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ ।

बन्दाबन्दी थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन दिएकाले प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो । नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिदका लागि विहान ७ देखि ९ बजे र दिउँसो ४ देखि साँझ ६ बजेसम्म निर्धारण गरिए पनि नागरिकले अटेरी गरी सबै पसल खुलेपछि जुम्ला बजारमा भीडभाड बढेको भन्दै प्रशासनले सदरमुकाम खलङ्गा बजारमा कडाइ गरेको हो । अत्यावश्यक कामबाहेक बजारमा आइपुग्ने सवारी साधन र व्यक्तिलाई प्रवेश गरेको पाइएमा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार ०९:३८