सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित मातृत्व कार्यक्रम प्रभावित

रोल्पा । कोभिड–१९ को सन्त्राससँगै सरकारले घोषणा गरेको बन्दाबन्दीले सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावित पारेको छ । लकडाउनका कारण बर्थिङ सेन्टरमा हुने प्रसूति सेवा घट्दै जान थालको छ । स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष साउनदेखि फागुनसम्म स्वास्थ्य संस्थामा हुने प्रसूतिको तुलनामा बन्दाबन्दीपछिको दुई महिना चैत र वैशाखमा यो मात्रा ह्वात्तै घटेको छ ।

गत साउनमा ४६४ जनाले स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएका थिए । बन्दाबन्दीको पहिलो महिना चैतमा २२९ जनाले स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । वैशाखमा यो सङ्ख्या अझै घटेको छ । कार्यालयमा जिल्लाका सबै स्थानीयले तह प्रतिवेदन बुझाइसकेका छैनन् । प्रतिवेदन बुझाएका पाँच स्थानीय तहका स्वास्थ्य संस्थामा यो सङ्ख्या निकै कम देखिएको छ ।

सोअनुसार गाउँपालिका सुनछहरीमा ६, गंगादेवमा ११ र त्रिवेणीमा सात र सुनिल स्मृतिमा २१ र नगरपालिकाका १४ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । ती स्थानीय तहमा लकडाउनपूर्व फागुनमा जम्मा १४० जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । सो महिनामा सुनछहरमा १९, गंगादेवमा २२, त्रिवेणीमा ३०, रोल्पामा ४० र सुनिल स्मृतिमा २९ जनाले उक्त सेवा लिएको स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए ।

ती पाँच स्थानीय तहका स्वास्थ्य संस्थामा चैतमा प्रसूति गराउनेको संख्या १२० जनामा झरेको थियो । वैशाखमा यो संख्या ह्वात्तै घटेको देखिएको छ । सो महिनामा ती स्थानीय तहका स्वास्थ्य संस्था पुगेर सेवा लिनेको संख्या ५९ मात्रै रह्यो । सो संख्या अघिल्ला महिनाको तुलनामा आधा हो । सुरक्षित प्रसूतिका लागि सरकारले जिल्लामा ६३ बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

नागरिकको सुविधालाई ध्यानमा राखी सकेसम्म कम दूरी रहने गरी स्थापना भएका भनिएका सेन्टरमा प्रसूति गराउने आमाको संख्या भने आधाभन्दा कम छ । अघिल्लो वर्ष गर्भवती भएकामध्ये ५० प्रतिशत आमाले मात्र सेन्टरमा पुगेर प्रसूति गराए । सरकारले संस्थागत प्रसूति सेवालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि रोल्पामा भने अझै ५० प्रतिशत महिला मात्रै प्रसूति सेवाका लागि स्वास्थ्य संस्था जाने गरेको देखिएको छ ।

आव २०७०÷०७१ मा झण्डै ३७ प्रतिशतले संस्थागत प्रसूति गराएकामा आव ०७५÷७६ सम्म यो संख्या ५० प्रतिशत बढी थियो । संस्थागत प्रसूति सेवाको पहुँच वृद्धि हुँदै गए पनि कोरोना कहरले उब्जाएका कठिनाइ र आशंकाले यो संख्या घट्दै जान थालेको हो । बन्दाबन्दीले नियमित गर्भ जाँच गराउने गर्भवतीसमेत प्रभावित भएका छन् ।

चार, छ, आठ र नौ महिनामा गर्भ जाँच गराउनुपर्नेमा पहिलो गर्भ जाँच गराउनेको संख्या बढी देखिए पनि दोस्रो, तेस्रो र अन्तिम जाँच गराउनेको संख्या कम देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अघिल्लो वर्ष ९० प्रतिशत गर्भवतीले पहिलो गर्भ जाँच गराएका थिए । नियमितरुपमा अन्तिमसम्म गर्भ जाँच गर्ने गर्भवतीको संख्या भने ४० प्रतिशत मात्र रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १३:०३