फाइल तस्वीर
बाँके । सद्भाव र एकताको शहर नेपालगन्ज, एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिहरुको जमघट हुन्छ । मुस्लिमहरुको चाडपर्वमा हिन्दुहरु सहभागी हुन्छन्, हिन्दुको चाडपर्वमा मुस्लिमहरु । यो नेपालगन्जको अत्यन्तै सद्भावपूर्ण अनि एकताको धार्मिक संस्कार हो ।
दशैं, तिहारजस्ता चाडपर्वमा परम्परामा मुस्लिमहरु टीका थाप्न हिन्दुहरुका घरमा पुग्छन् भने मुस्लिम समुदायको चाडपर्वमा हिन्दुहरु सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्दछन् । मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय, बहुभाषिक तथा ऐतिहासिक शहर हो, नेपालगन्ज ।
यहाँ एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुगिन्छ । नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी मन्दिरको बाटो हुँदै मस्जिद पुग्नु यहाँको धार्मिक सहिष्णुताको अनुपम नमूना हो । त्यसमाथि एकले अर्को व्यक्तिसँग कुराकानी गर्दा एकैसाथ नेपाली, थारु र उर्दु भाषा प्रयोग गर्छन्, अधिकांश नेपालगन्जबासी ।
त्यसैले त नेपालगन्जमा दशैं, तिहार, होलीजस्तै जितिया, इदउलफित्र र मोहरमजस्ता पर्वको रौनक पनि विशेष हुने गर्दछ । धर्मका हिसाबले हिन्दु र इस्लाममा बाडिँएको भए पनि नेपालगन्जका मुस्लिम समुदाय इदउलफित्र, बकरइद र मोहरममा जस्तै दशैं र तिहारमा पनि उत्तीकै आफ्नोपन महशुस गर्छन् ।
सद्भावको शहर नेपालगन्जमा धार्मिक विभेद छैन । मुस्लिम समुदायले मनाउने चाडपर्वहरुमा हिन्दु समुदायलाई पाहुनाका रुपमा स्वागत गरिन्छ र परम्परा अनुसार नै एकअर्कामा पर्वको उल्लास साटासाट गरिन्छ । ठिक यहि परिपाटी दशैं, तिहार लगायतका सबै धर्म र समुदायका चाडपर्वहरुमा पनि देख्न पाइन्छ ।
जिल्लाभरिका सबैजसो इदगाह अनि मस्जिदमा ‘नमाज’ पढ्ने अनि अंकमाल गरेर शुभकामना साट्नेहरुको घुइँचो लाग्छ । यस पर्वमा इस्लाममात्र होइन, अन्य समुदायसँग पनि सद्भाव साटेर मनाउने चलन बढेको छ । नेपालगन्ज हिन्दू, मुस्लिम, मधेसी, थारुलगायत धेरै जातजातिको बसोबास भएको शहर हो ।
प्रत्येक टोल अनि सडकमा इदगाह, मस्जिद, मन्दिर र चर्च बाक्लै छन् । तर, एकअर्काको पर्वलाई सबैले ‘प्रेम’का साथ स्वीकार गर्छन् । हिन्दू पर्वमा मुस्लिमलाई निम्तो पुग्छ अनि मुस्लिम चाडपर्वमा हिन्दूले निम्तो मानिरहेका हुन्छन् । यस पर्वका अवसरमा खुला स्थान वा मस्जिदमा गई नमाज पढ्नुका साथै अंकमाल गरेर शुभकामना आदानप्रदान गर्ने चलन छ ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इदउलफित्रमा नयाँ लुगा किन्ने, गरिबहरुलाई दान गर्ने, एकापसमा खुशी साटासाट गर्दै सुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसपटक भने कोरोना महामारीका कारण नेपालगन्जको परम्परा अनुसार एकअर्कामा पर्वको उल्लास साटासाट गर्न पाउने अवस्था छैन ।
एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गरी मनाइने रमजान कोरोना त्रासले सुनसान छ । विगतका वर्षमा रमजान भरि मस्जिदमा भिडभाड र रौनक हुन्थ्यो, लाउड स्पीकरबाट अल्लाहका सन्देशहरु सुनाइन्थयो तर यसवर्ष यस्ता कुनै पनि प्रकारका गतिविधी भएका छैनन् । दैनिकरुपमा पढिदै आएको सामूहिक नमाज पनि रोकिएको छ ।
‘सामाजिक दुरी कायम गर्नुपर्नेछ । भेला र भीडभाड गर्न मिल्दैन । यसबर्ष घरमै बसेर इदउलफित्र मनाउनु पर्नेछ,’ मुस्लिम युवा सकिल खान भन्छन्, ‘यतिबेला कोरोनाबाट बच्न र बचाउनुपर्नेछ ।’ सामाजिक दुरी कायम गर्नु नै कोरोनाबाट बच्ने उत्तम विकल्प भएकाले यसको पालना अपरिहार्य रहेको पनि उनले बताए ।
हरेक वर्ष मुस्लिम समुदाय रमजान महिनामा ५ पटक नियमित सामूहिक नमाज पढ्थे, मस्जिद मदरसामा समेत कुरान पाठ, साझ सुर्यास्त भएपछि सामूहिक रुपमा अफतारी (व्रत तोड्ने), रमजान महिनामा मात्र सामूहिक विशेष नमाज तराबी पढ्ने गरे पनि यस वर्ष कोरोना महामारीका कारण पर्व मनाउने शैली फेरिएको उनले बताए ।
इस्लामिक पात्रोअनुसार हिजरी संवतको नवौं महिनामा रमजान मनाइन्छ । रमजानमा इस्लाम धर्मावलम्बीले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टाअघि केही खानेकुरा (सेहरी) खाएर सुरु गरिएको (व्रत) रोजा सूर्यास्तपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा निराहार यहाँसम्मकी थुक पनि निल्नुहुँदैन ।
‘इद उलफित्र’को अन्तिम दिन घरमै ‘रोजा इफ्तार’ गर्ने तयारी गरेको नेपालगन्जका पत्रकार सिराज खानले बताए । उनले भने, ‘महामारीका बेलामा परिवार र समुदाय कोरोना संक्रमणबाट जोगाउनुपर्ने अवस्था छ । यस्तो बेलामा अंकमाल गरेर खुशी साटासाट गर्ने अवस्था छैन । धर्मगुरुको आदेशअनुसार विधिपूर्वक ‘रोजा इफ्तार’ गरेर मनाउनेछौं ।’
रोजाजस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिन बरक्कत (फलिफलाप), दोस्रो १० दिन रहमत (दया–माया) र अन्तिम १० दिन मगफिरत (अल्लाहबाट माफी) पाउन यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।
रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । तर अहिले बन्दाबन्दीका कारण सामूहिकरुपमा पढाइँदै आएको सबै नामज घरघरमै सामाजिक दुरी राख्दै पढेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सफिक बेहनाले ‘इदउलफित्र’को अन्तिम दिन घरमै बसेर ‘रोजा इफ्तार’ गर्न नगरबासीलाई आग्रह गरे । उनले सरकारले गरेको बन्दाबन्दीको पालना गरेर सामाजिक दुरी कायम गर्दै धार्मिक सद्भाव र एकताको सन्देश साटासाट गर्न पनि आग्रह गरे ।
‘हाम्रा लागि इद र मोहरमजस्तै दशैं र तिहार पनि प्रिय चाडपर्व हुन् । हामी दशैंमात्रै होइन, भाइटीका पनि मनाउँछौं । तर यसपटक महामारीका कारण आफु पनि सुरक्षित भएर अरुलाई पनि सुरक्षित रहनका लागि सचेत बनाउनुपर्ने हाम्रो दायित्व छ । यतिबेला घरमै बसेर कोरोना महामारीलाई पराजित गर्ने कामनासहित घरमै बसेर पर्व मनाउनुस्,’ उनको आग्रह छ ।
नेपालगन्जमा सबै धर्मावलम्बीहरुका चाडपर्वमा सबै समुदायले उल्लासपूर्वक मनाउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ भन्छन्, ‘चाडबाड भनेकै एकआपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हुन् । हामी पनि त्यही माध्यममार्फत एकअर्कामा जोडिएका हौं । यसपटक भने इदउलफित्र निरस बनेको छ ।’
मुिस्लम समुदायमा मात्र नभई अन्य समुदायको समेत सहभागितामा मस्जिदहरुमा खुशी साटासाट गर्नै अंकमाल गर्ने पर्व यसपटक रोनकबिनै सकिँदैछ । हिन्दूहरुको महान् पर्व दशैंमा २७ वर्षदेखि टिका थाप्दै आउनुभएका नेपालगन्ज उद्योग वाणिज्य संद्दका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले घरमै बसेर नमाज पढ्ने तयारी गरेको बताए ।
धार्मिक सहिस्णुता र सामाजिक एकताको नेपालगन्जमात्रै होइन विश्वकै मुस्लिम समुदायलाई घरभित्रै मनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘नेपालगन्ज सहिष्णुताको अनुपम नमूना शहर हो । यहाँका सबै धर्मका नागरिकले एकअर्कालाई उच्च सम्मान गर्छन् । यो यहाँको महत्वपूर्ण संस्कार नै हो । यसपटक घरमै पर्व मनाएर कोरोनालाई जितौं ।’
नेपालगन्जका मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले घरमै बसेर ‘रोजा इफ्तार’ गर्न आग्रह गरिरहेको बताए । ‘अहिले महामारीको बेलामा मस्जिदमा नमाज पढ्ने, भेला हुने, खुशी साटासाट गर्ने अवस्था छैन । हामीले धर्मावलम्बीहरुलाई घरमै बसेर पर्व मनाउन आग्रह गरेका छौं,’ धर्मगुरु जब्बार मञ्जरीले भने ।
उनको बुझाइमा पहिला मानिस बन्न सक्नु नै हरेक धर्मको सार हो । ‘सबै धर्मले यही भनेको छ कि पहिला त मान्छे बन्न सिक्नुपर्छ, हामी पनि त्यही सिकाउँछौं,’ उनी भन्छन्, ‘जब हामी मान्छे नै रहँदैनौं भने को जान्छ र मस्जिदमा, को जान्छ मन्दिर अनि गिर्जाघरहरुमा ? त्यसैले बन्दाबन्दीको पालना गरौं, घरैमै बसेर पर्व मनाऔं ।’
अनि उनको अर्काे सन्देश हो, शान्ति । उनको बुझाइमा जब देशमा शान्ति हुँदैन तबसम्म देशको विकास पनि सम्भव छैन । ‘हामी मुस्लिम, हिन्दू अनि सबै धर्म तथा समुदाय मिल्यौं भने मात्र शान्ति सम्भव छ,’ धर्मगुरु जब्बार मञ्जरीले भने, ‘शान्ति भयो भने मात्र देशको विकास हुन्छ । अहिले कोरोनासँग लड्ने बेला हो । एकापसमा मिलेर लडौं ।’ उनी यो पर्वलाई गरिबीविरुद्धको लडाइँका रुपमा लिन्छन् ।
हुनेखानेहरुले गरिब र असहायका लागि केही न केही दिनैपर्ने बाध्यकारी परम्परा यो पर्वमा छ । ‘यो पर्वको सुरुआत गरिबीविरुद्ध पनि हो, हामीले बलिदान गरेको एक भाग गरिब र असहायहरुको नाममा जान्छ,’ उनी भन्छन्, ‘त्यसैले यो पर्व भनेको गरिबीविरुद्धको हाम्रो लडाइँ पनि हो ।’ उहाँका अनुसार मस्जिद खाली राख्नुहुन्न भन्ने मान्यताअनुसार दैनिक एक्लै भए पनि नमाज पढ्ने, अजान दिने काम मौलानाहरुले गरिरहेका छन् ।
मुस्लिमहरुको महान धार्मिक ग्रन्थ कुरआन अवतरण भएको महिना हो रमजान । राति चन्द्रमा देखिएपछि रमजान महिना सुरु भएको छ । रमजानको सुरुवातसँगै रोजा (उपवास) सुरु भएर एक महिनासम्म चल्छ । मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु, धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट टाढा राख्नु, गलत कार्य गरेमा पश्चात्ताप गर्नु, झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो ।
रमजान महिना गरिब, दिनदुखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् । यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ । यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा दिनुपर्छ मुस्लिम अगुवा बताउँछन् ।
यो नेपालमा मात्र नभई संसारभरिकै मुसलमानमा लागु हुने बताउनुहन्छ धर्मगुरु जब्बार मञ्जरी । धर्मगुरु जब्बार मञ्जरीका अनुसार मुस्लिमले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु यही महिनामा पूरा गर्न सकिन्छ । ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट ‘इदउलफित्र’ मनाइन्छ ।
सत्यपाटी ।