सूचनाको शक्ति - The Power Of Information

        

घरमै पुगेर फोहर उठाउँदै जनप्रतिनिधी

बझाङ । साइपाल हिमालका नामले नामाकरण गरिएको जिल्लाको अतिसुन्दर तर विकट साइपाल गाउँपालिकालाई प्लाष्टिकरहित गाउँपालिका घोषणा गर्ने योजना रहेको छ । गाउँपालिकाको १ र २ नं. वडाबाट अभियान सञ्चालन गरी पाँच वटै वडामा पुग्ने अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

स्थानीयस्तरमै पाइने डोकाडालाहरु र झोलाहरुको प्रयोग गरेर गाउँपालिकालाई स्वच्छ तथा सफा राख्ने उद्देश्यका साथ गाउँपालिकाभर अहिले सरसफाई योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । प्रत्यक घर र सार्वजनीक स्थलहरुमा स्थानीयले उत्पादन गरेका डोकाहरु खरीद गरेर राख्ने काम भइरहेको छ ।

गाउँपालिकाले हिँड्ने बाटोमा समेत ठाउँठाउँमा निगालोले बुनेका डोकाहरु झुड्याउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए । बाटोमा हिँड्ने बटुवाहरुले समेत सूर्तीजन्य तथा मादक पदार्थ सेवन गरी जथाभावी फाल्ने भएकाले यसको रोगथामका लागि सरसफाई अभियान अघि सारिएको उनले बताए ।

कोरोनाका बारेमा सचेतना जोगाउँदै सरसफाईसहित गाउँपालिकाका अध्यक्षको नेतृत्वमा यहाँका जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमै पुगेर फोहोर उठाउने गरेको स्थानीय मिलन बोहराले बताए । गाउँपालिकाले जथाभावीरुपमा फोहोर गर्नेहरुलाई समेत पहिलो चरणमा सम्झाउने र त्यसपछि निर्णय अटेरी गरेमा दण्ड तथा जरिवानासमेत गर्न सकिने जनाएको छ ।

स्थानीयहरुलाई गाउँपालिकाभित्र प्लाष्टिक नल्याउन अनुरोध गर्दै कोही कसैले प्लाष्टिक ल्याएमा त्यसलाई पुनःप्रयोग गर्न र जथाभावीरुपमा नफाल्न सुझाउने गरेका छन् । प्लाष्टिकजन्य बस्तुहरु तथा सिसाका कारण वातावरणमा ठुलो असर पर्ने भन्दै गाउँपालिकाले यसको रोगथाम गर्न अहिलेदेखि नै विभिन्न सचेतनामूलक कार्यक्रमसहित यसको रोगथाममा लागि परेको जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतवार १३:२०