सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एकैदिन २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

बाँके । बाँकेमा एकैदिन २७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै नरेनापुरका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा भएको परीक्षण अनुसार नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नरैनापुरस्थित राष्ट्रिय प्रावि गेगलीका १५ जना, राष्ट्रिय प्रावि महतनियाका ६ जना र नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १६ देखि ५० बर्ष उमेर समूहका रहेका छन् । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११३ पुगेको छ भने जिल्लाभर कुल संख्या १४२ पुगेको छ । तीमध्ये एकजनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजमात्रै बाँकेका २७ जनासँगै देशघर थप ३६ जनामा संक्रमण पुष्टि भएको हो । जसअनुसार बर्दिया बढैयाताल ७ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ भने सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सेती अस्पतालको प्रयोगशालामा कैलालीका चार जना संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार २० वर्षका २ पुरुषसहित चार पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस्तै कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १६:५४