सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमण देखिएपछि राप्तीसोनारीमा सर्तकता, प्रत्येक वडामा आइसोलेसन

बाँके । पहिलो कोरोना संक्रमित फेला परेपछि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सर्तकता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा सर्तकता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । ‘राप्तीसोनारीमा पहिलो पटक कोरोना संक्रमित फेला परेपछि थप सर्तकता बढाएका छौं, गाउँपालिकाबासीलाई अत्यावश्यक कामबाहेक कतै आवतजावत र भीडभाड नगर्न अनुरोध गरेका छौं,’ उनले भने ।

भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका–९ का १८ बर्षिय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भर्ना भइरहेको अवस्थामा प्रयोगशालामा कोरोना जाँच गर्दा पोजिटिभ देखिएको हो । राप्तीसोनारी–९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार ती युवक जेठ ७ गते नेपाल प्रवेश गरेका थिए ।

उनीसहित वडाका चार जनालाई राप्तीसोनारी–९ सम्शेरगन्जस्थित गणेश माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उक्त क्वारेन्टाइनमा हाल ६ जना बसिरहेका छन् । सिमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो । ‘ज्वरोले च्यापेपछि जेठ ८ गते उनलाई एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालमै रहँदा उनको स्वाब परीक्षणपछि कोरोना भाइरस पोजेटिभ देखियो,’ वडाअध्यक्ष ओलीले भने ।

कोरोना संक्रमित ती युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । युवकमा कोरोना पोजेटिभ देखिएलगत्तै अन्य ब्यक्तिको पनि कन्ट्रयाक्ट टे«सिङमार्फत स्वाब संकलन गर्न आग्रह गर्दा हालसम्म नभएको वडाध्यक्ष ओलीको गुनासो छ । उनले भने, ‘युवकमा कोरोना पोजेटिभ देखिएपछि अन्य ब्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाई भएको छैन ।’

शुक्रबारसम्म भारतबाट फर्केर आएका १४० जनालाई गाउँपालिकाका विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले राखिएको जानकारी दिए । ‘क्वारेन्टाइनमा रहेका सबै भारतबाट फर्किएका हुन्, अझै फर्किने क्रम चलिरहेको हुँदा संख्या बढ्ने देखिन्छ,’ उनले भने । क्वारेन्टाइनमा रहेका ब्यक्तिलाई सरकारी निर्देशिकाअनुसार ब्यवस्थापन गरिएको उनले बताए ।

प्रत्येक वडामा आइसोलेसन

शुक्रबारमात्रै राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक १८ बर्षिय युवकमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले नयाँ योजना अघि सारेको छ । गाउँपालिकामै पहिलो पटक १८ वर्षीय पुरुषमा संक्रमण देखिएपछि थप संक्रमण बढ्नसक्ने आँकलन गरी गाउँपालिकाले ‘एक वडा, १० बेडको आइसोलेसन सेन्टर’ बनाउने योजना अघि सारेको हो ।

योजना अनुसार गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा १०/१० बेडको आइसोलेसन सेन्टर बनाइनेछ । मजदुरीका लागि भारत गएका गाउँपालिकाका स्थानीय नागरिकहरु भारतका कोरोना अतिप्रभावित क्षेत्रबाट आइरहेकाले कोरोना पोजेटिभ देखिन सक्ने अवस्थालाई मध्यनजर गरेर आइसोलेसन केन्द्र बनाउने निर्णयसँगै निर्माण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष थारुले जानकारी दिए ।

उहाँका अनुसार कोरोना पोजिटिभ देखिएका तर स्वास्थ्य अवस्था सामान्य रहेकालाई राख्न हरेक वडामा कम्तीमा १० बेडको आइसोलेसन सेन्टर स्थापना गर्न चाहेमा नजिकका दुई वा सो भन्दा बढी वडाले आपसी समन्वयमा एक वडामा क्वारेन्टाइन र अर्को वडामा आइसोलेसन सञ्चालन पनि गर्न सकिनेछ । सम्बन्धित वडामा पोजेटिभ देखिएका विरामीलाई सोही वडाभित्रको आइसोलेसनमा ब्यवस्थापन गर्ने निर्णय अनुसार काम अघि बढेको छ ।

गाउँपालिकाले वडाभित्रका विरामी थपिन सक्ने अवस्था आएमा १० वेडलाई बढाएर वडाभित्रका संक्रमितलाई सोही वडाको आइसोलेसन स्थलमा ब्यवस्थापन गर्ने गरी तयारी थालेको अध्यक्ष थारुले बताए । गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने, ‘आइसोलेसन निर्माणका लागि सबै वडामा स्थान छनौट गर्न भनिएको छ । स्थान छनौट भएपछि निर्माणको काम अघि बढ्छ ।’

हरेक वडामा निर्माण भएका आइसोलेसन तथा क्वारेन्टाइनको ब्यवस्थापन सम्बन्धित वडाले गर्ने उनले बताए । ‘बेडको क्षमता विस्तार हुने गरी तयारी गरिएको छ । जटिल संक्रमण देखिएका विरामीलाई भने संघीय र प्रदेश सरकारले ब्यवस्थापन गरेका अस्पताल तथा केन्द्रहरुमा पठाइनेछ,’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने । पालिकाको निर्णय अनुसार अहिले वडावडामा आइसोलेसन निर्माणका लागि तयारी थालिएको छ ।

आइसोलेसन तथा क्वारेन्टाइन स्थलहरुको सञ्चालन तथा ब्यवस्थापनमा बाधा पु¥याउनेलाई कानुन बमोजिम कारबाहीका लागि स्थानीय प्रशासनलाई सिफारिस गर्ने जनाइएको छ । क्वारेन्टाइन तथा आइसोलेसनको ब्यवस्थापनवापत् लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्ने तर सोधभर्नाको लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने पनि जनाइएको छ । जिल्लामा हालसम्म ११५ जना संक्रमितमध्ये २१ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १५:४७