सूचनाको शक्ति - The Power Of Information

        

बन्दाबन्दीमा मनको स्याहार कसरी गर्ने ?

कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ । रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो । साथै मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एकअर्काका परिपुरक हुन् । शरीरमा समस्या आउँदा मनमा पनि असर पर्छ । साथै मनमा समस्या आउदा शरीरिक लक्षणहरु पनि देखिन सक्छन् । बन्दाबन्दीको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि बिशेष ध्यान पुर्याउनुपर्छ । अन्यथा आफ्नो मनको स्याहार सुसारमा ख्याल नपुर्याउदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढ्छ ।

प्राकृतिक बिपत्ति वा प्रकोपहरु पर्दा, कोरोना भाइरसले रोगब्याधि फैलिँदा वा मानव सिर्जित ठुलाठुला घटनाहरुले स्वभावैले मनोवैज्ञानिक वा मानसिक रोगसमेत स्वभाबैले बढेर जान्छ । कोनोनाको प्रकोपजस्ता घटनाले स्वभावैले मानिसको मनमा चोट पुर्याउँछ । मनमा असरहरु देखिन थाल्छन् । यसलाई असहज अवस्थामा देखिने स्बभाबिक प्रतिक्रियाको रुपमा लिइन्छ । धेरैको लागि यस्ता असरहरु अस्थाई हुन्छ । समय बित्दै गएपछि ढिलो चाँडो प्रायः धेरैजसो मानिसहरु आफै पूर्वावस्थामा फर्कन सक्छन् । केहिलाई भने पूर्वावस्थामा फर्कन गाह्रो पनि पर्न सक्छ । विज्ञको सहयोग पनि चाहिन सक्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्बास्थ्य समस्या :

१. एन्जाइटी – विभिन्न किसिमका डर र चिन्ता जन्य समस्याहरु ।
२. डिप्रेसन – दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।
३. मानसिक आघात – पीडादायिक घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।
४. प्यानिक अट्याक – एक्कासी बिनाकारण उत्पन्न हुने अत्याधिक त्रास ।
५. समायोजनको समस्या – परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।
६. अब्सेसिभ कम्पल्सिभ डिसअडर्स – एउटै सोच वा बिचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोर्होयाई रहने मानसिक रोग ।
७. जाँड रक्सी, लागुप्रदार्थको लत ।
८. कन्भर्सन डिसअडर्स – डर, त्रास, तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।
९. एक्युट स्टेस डिसअडर्स – तत्कालै देखापर्ने तनाबजन्य समस्या ।

संकटको बेला मनमा पर्ने असर भने ब्यक्तिपिच्छे फरकफरक हुनसक्छ । कसलाई कति असर पर्छ भन्ने कुरा ब्यक्तिको उमेर, लिङ्ग, स्वयं ब्यक्तिको शारीरिक, मानसिक अबस्था, ब्यक्तित्व, परिस्थितिसँग जुझ्ने ज्ञान, सीप, मानसिक क्षमता, अनुभव, तनाब ब्यवस्थापनको तौरतरिका, दैनिक जीवनशैली, ब्यक्तिले प्राप्त गरेको सहयोगजस्ता कुरामा भरपर्छ । बिपत्तिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन् । उनीहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइरहेका हुन पनि सक्छन् । नचाहँदा नचाहँदै नकारात्मक क्रियाकलाप गरिरहेका हुन सक्छन् । बिपत्तिमा सबैले आफुलाई समाल्न सक्छन् भन्ने पनि हुँदैन । उनीहरुलाई सहयोगको जरुरत पर्दछ ।

प्रकोपको मानसिक असर लामो समयसम्म नरहोस् तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस् भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ । बिपत्तिको बेला ब्यक्तिको मनमा देखापर्ने त्रास, भय, छटपटी, मानसिक अशान्ति, नैरस्यता र यसको कारण आउनसक्ने व्यवहारजन्य गडबडीलाई ब्यवस्थापन गर्ने दिइने सबै प्रकारका ब्यवहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । प्राथमिक मनोबैज्ञानिक सहयोग पाउदा ब्यक्तिको मनमा शान्ति, स्थिरता आउँछ । तनाब ब्यबस्थापन गर्न सहयोग मिल्छ । दैनिक जीवनमा पर्किन सजिलो हुन्छ । कोरोनाको संक्रमण बढेको बेला स्वयं ब्यक्तिले आफ्नो शारीरिक स्बास्थ्यको ख्याल गर्नुका साथै मनको स्याहारसुसारमा पनि बिशेष ध्यान दिनु जरुरी हुन्छ । जसलाई स्वहेरचाह भनिन्छ ।

आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?

१. करोनाको संक्रमणबाट जोगिन बन्दाबन्दीको पूर्ण पालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढ्छ ।
२. फुर्सदको बेला मानसिक तनाब नहोस् भनेर समय ब्यवस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिनचर्यालाई सन्तुलित बनाउन सकिन्छ । आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोना सम्बन्धी कुरा खेल्न पाउँदैन । नत्र जतिबेला पनि कोरोनातिर ध्यान गई त्रास बढ्न सक्छ ।
३. कोरोनाको जोखिमबाट जोखिन सत्यतथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिनेभन्दा बढि जानकारी लिन खोज्ने, समचार पटकपटक हेरि रहनेजस्ता व्यवहार गर्नुहुँदैन ।
४. सामाजिक सञ्जाल, इन्टरनेट चलाएर बस्नेभन्दा आफ्नो रुचिको काम गरेर समय बिताउन सकिन्छ । परिवारसँग कुराकानी गर्ने, खेल खेल्न, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाइला र ज्ञानबर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।
५. तनाब कम गर्न शारीरिक ब्यायम, योग, मेडिटेसन, श्वासप्रश्वासको ब्यायम, ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्याउछ । तनाबको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।
६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषणयुक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाब बढाउँछ ।

आफ्नो स्वहेरचाहका बाबजुद पनि कोरोनाको प्रकोपले गर्दा मनोसामाजिक समस्या देखापरेमा विज्ञको सहयोग लिनुपर्छ । बन्दाबन्दीको अवधिभर मार्क नेपाल मनोसेवा केन्द्रमा फोन गरेर निशुल्क सेवा लिन सकिन्छ । जसको लागि ९८१३५२७७३२ मा फोन गर्न सकिन्छ । (लेखक ‘मार्क नेपाल मनोसेवा केन्द्र’मा आवद्ध छन् ।)

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १३:४३