बन्दाबन्दी (लकडाउन)ले गर्दा अहिले व्यक्तिहरु फुर्सदिलो भएका छन् । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । बन्दाबन्दीको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा झनैबढी ध्यान जानसक्छ । तनावका बेला अन्य कार्यमा रुची नजाने र यौनलाई नै आनन्द र मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम बढेर गएको छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि व्यक्ति यौनकर्मप्रति बढि लालायित हुनपुग्छ ।
जैबिक तथा मानसिक दुबै हिसाबले यौन मानिसको जिवनमा महत्वपूर्ण पनि हुन्छ । तर, बन्दाबन्दी र सेल्फ क्वारेन्टाइनको कारणले ब्यक्तिको यौन जीवनमा समेत प्रभाव परेको सजिलै अनुमान गर्न सकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौनजोडीमध्ये कुनै एक जनामा कोरोनाको संक्रमण रहेछ भने अर्को यौन जोडीलाई सर्ने जोखिम हुन्छ । यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले जोखिम झनै बढाउँछ । यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन ।
तसर्थ यौनजोडीहरु, जो लामो समयदेखिसँगै बसिरहेका छन् र दुबैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने बन्दाबन्दीको समयमा पनि सुरक्षितरुपमा यौन सम्बन्ध राख्दा कुनै बाधा नपर्ने बिज्ञहरुले बताउँदै आएका छन् । तर, यो समयमा अपरिचित र परपुरुष तथा परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ । कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा पनि वैकल्पिक उपाय अपनाउन थालिएको छ । वैकल्पिक साधनहरुको प्रयोग पनि बढेर गएको छ । विश्वभर नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ ।
अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरीयता सेक्स टोयको बिक्री तीव्ररूपमा बढेको छ । क्यानडामा सेक्स टोयको बिक्रीमा १३५ प्रतिशतले वृद्धि भएको छ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ । इटालीमा पनि सेक्स टोयको मागमा ६० प्रतिशतले वृद्धि भएको छ । बन्दाबन्दी लागू भएपछि बिश्वमा नै ‘पोर्न साइट’ हेर्नेको संख्या समेत बढेर गएको छ ।
‘पोर्न हब’को आँकडा अनुसार बन्दाबन्दीको अवधिमा भारतमा एडल्ट साइट्स खोल्नेहरको संख्या ९५ प्रतिशतले बढेको देखिन्छ । आँकडा अनुसार भारतमा मार्चको अन्तिमसम्ममा बन्दाबन्दी शुरु हुनुभन्दा पहिला पोर्न साइट २० प्रतिशतले मात्र हेर्ने गर्दथे । तर बन्दाबन्दीको तीन हप्तामा भारतमा त्यसको संख्या बढेर ९० प्रतिशत पुगेको छ । यसरी हेर्दा बन्दाबन्दीको समयमा धेरै पोर्न हेर्ने देशहरुमध्ये भारत पहिलो नम्बरमा पर्न आउछ । बन्दाबन्दीका कारण भारत, फ्रान्स, जर्मनी, इटाली, रुस, दक्षिण कोरिया, स्पेन, स्वीट्जरल्याण्ड र अमेरिकामा पोर्न साइट हेर्नेको संख्या अत्याधिक बढेको पाइएको छ ।
नेपालमा पनि चाइल्डसेफनेटले बन्दाबन्दीका अवधिमा गरेको एक सर्वेक्षण अनुसार ४१ प्रतिशतभन्दा बढीले अश्लील साइट हेर्ने गरेको पाइएको छ । बन्दाबन्दी अवधिभर विभिन्न १ हजार २०० जना इन्टरनेट प्रयोगकर्तामा गरिएको उक्त अध्ययनले सो कुरा देखाएको हो । बन्दाबन्दीको समयमा बिश्वभर नै अश्लील साइट हेर्नेको संख्या बढेसँगै पोर्नस्टारहरुको कमाइ र माग पनि बढेर गएको छ । अरुबेला चर्चामा नआएका पोर्न फिल्महरु पनि बन्दाबन्दीको बेला चर्चामा आउन थालेको द फ्रि स्कोचको अलिशनले जनाएको छ ।
बन्दाबन्दीको समयमा पनि सुरक्षाको उपाय अपनाउँदै शारीरिक सम्बन्ध राखेका भिडियोहरु बिभिन्न पोन साइटहरुले अपलोड गरिरहेका छन् । लक‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘बन्दाबन्दीको अबधिमा धेरै पोर्न साइटहरुले वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडियो पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ । साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका छन् ।
रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित हुन्छ । जसको कारण यौन सम्पर्कजन्य संक्रमणको डर बढ्छ । साथै अनिच्छित गर्भ रहन सक्छ । राष्ट्र संघीय जनसंख्या कोषले कोभिड–१९ को महामारी विश्वव्यापि फैलिँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुँदा ७० लाख महिलामा अनिच्छित गर्भ रहने जनाएको छ । बन्दाबन्दीका कारण सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने बन्द भएपछि मनोरञ्जनको विकल्प सीमित भएका छन् । त्यसैकारणले पनि मन बहलाउन मानिसहरूको तन, मन यौनतर्फ गएको अनुमान गर्न सकिन्छ ।
तर यौन जोडी यसमा तयार नहुँदा यौन हिंसासमेत हुनपुग्छ । यस्तै एउटा घटना घटेको छ । बन्दाबन्दीको बेला श्रीमानले अत्यधिक यौन सम्पर्क राख्न खोजेपछि आजित भएर बन्दाबन्दी खोल्न एक महिलाले राष्ट्रपतिसमक्ष अपिल गरेकी छन् । यो घटना अफ्रिकी देश घानाको हो । आफ्ना श्रीमानको यौन व्यवहारका कारण तनावमा भएकी उक्त महिलाले भिडियो नै बनाएर आफ्नो पीडा व्यक्त गरेकी हुन् । यौनको मामलामा श्रीमतीको ईच्छा नबुझीकन यौन कार्यमा संलग्न हुनु अहिलेको समयमा अझ बढि घातक साबित हुनसक्छ ।
यौन क्रियाकलापमा यौन जोडीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । तनावले यौन जोडीमा यौनक्षमता तथा चाहना कम भएको हुनसक्छ । असुरक्षित महशुस गरिरहेको हुनसक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुनसक्छ । विपत्तिको यस्तो अवस्थामा यौन जोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नुहुँदैन । बिपतिले पुरुषलाई भन्दा महिलालाई बढि मानसिक असर पुर्याउछ । साथै बन्दाबन्दीले महिलाहरुमा घरयायसी कामको बोझ पनि बढाएको हुनसक्छ । जसको कारण महिलाहरुमा अझै बढि तनाव, निराशा पैदा भएको हुनसक्छ ।
यस्तो अबस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा यौन जोडीबीच असमझदारी तथा झैझगडा हुनपुग्छ । यौन दुर्ब्यबहार तथा यौन हिंसाका घटनासमेत घटन सक्छन् । डर–त्रास र तनावलाई कम गर्न भन्दै रक्सी सेवन गर्दा व्यक्तिमा यौन उच्छृंखलता बढ्न सक्छ । नसा तथा लागुपदार्थको सेवनले यौन दुर्व्यवहार तथा यौन हिंसासमेत बढाउँछ । नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी तीन वटा करणी अपराधका घटना केही उदाहरण मात्र हुन् । बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका छन् । यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौनदुराचारका १० घटना भएका छन् ।
बन्दाबन्दीको समयमा विश्वभर यौन हिंसा बढेर गएको तथ्यांकले देखाएको छ । यी घटनाहरु बढ्नुमा बन्दाबन्दीका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हो । बिपत्तिको बेला यौन जोडीमा धैर्यता र समझदारी आवश्यक हुन्छ । बिपत्तिले पारेको शारीरिक, मानसिक, सामाजिक तथा यौनको असरलाई ख्याल गर्दै परिवर्तित अवस्थामा एक अर्कोको मनोविज्ञानलाई बुझ्दै व्यवहार गर्ने हो भने परिवारिक कलह तथा यौन हिंसालाई कम गर्न सकिन्छ । बन्दाबन्दीभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुनसक्छ ।
त्यसो हो भने बन्दाबन्दीलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीरमात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ । भावनात्मक रुपमा एक–अर्कालाई नजिक ल्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ । ब्यक्तिमा आत्मबल बढेर जान्छ, साथै शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ । तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौनलाई भने प्रोत्साहन गर्नुपर्छ । यौन सम्बन्धी तथा अन्य मानसिक समस्यामा परेकाहरुका लागि बन्दाबन्दीको अवधिभरि ‘मार्क नेपाल मनोसेवा केन्द्र’ले निशुल्क मनोपरामर्श सेवा प्रदान गरिरहेको छ । सेवा लिनका लागि ९८१३५२७७३२ मा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ । (लेखक ‘मार्क नेपाल मनोसेवा केन्द्र’मा आवद्ध छन् ।)
गोपाल ढकाल, मनोविद ।