फाइल तस्वीर
बाँके । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा उपचाररत २१ जना शुक्रबार निको भएर घर फर्किए । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कारोनामुक्त भए । संक्रमित भएका २१ जनामा संक्रमण हुँदादेखि निको हुँदासमेत कोरोनाको कुनै लक्षण नै देखिएन ।
भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाशबहादुर थापाका अनुसार केही पनि लक्षण नदेखिएका उनीहरुको पछिल्लो समय गरिएको परीक्षण नेगेटिभ आएको थियो । बाँकेका पहिलो कोरोनाको संक्रमण देखिएका ६० वर्षिया पुरुषसँगै सात वर्षिया बालिकाले पनि कोरोना जितेकी छन् ।
निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.थापाले भने, ‘कोरोना संक्रमितहरुमा लक्षण खासै केही देखिएन। हामीले उहाँहरुको रेखदेखमा कुनै कमि पनि गरेनौं,’ डा. थापाले भने, ‘लक्षण नदेखिएका कारण उहाँहरुलाई त्यस्तो छुट्टै औषधी पनि चलाउनुपरेन । सात महिनाको गर्भवति महिला, सात र नौ वर्षका बालिका तथा ६० वर्षका पुरुष कसैलाई पनि कोरोनाले अन्य मुलुकमा देखाएको जस्तो लक्षण देखिएन ।’
‘अहिले घर फर्किनेहरु सबै कोरोना मुक्त हुनुुहन्छ,’ निमित्त मेसु डा.थापाले भने, ‘हामीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार १४ दिनमा पिसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो, फेरी हामीले २४ घण्टापछि पुनः परीक्षण गर्दा पनि उहाँहरुमा कोरोना नेगेटिभ आएपछि कोरोनाबाट मुक्त भएको भनेर डिस्चार्ज गरेका हौं ।’
बाँकेमा वैशाख १९ गते पहिलो पटक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनलाई पोजेटिभ देखिएपछि गरिएको ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ बाट २८४ जनाको स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भयो । दुई जनाको दोस्रो परिक्षण पनि पोजिटिभ देखिएकोले आइसोलेसनमै छन् ।
‘उहाँहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिएका छौं,’ डा.थापाले बताए । शुक्रबार निको भएर डिस्चार्ज भएपछि हर्सित हुँदै उनीहरुले भने, ‘कोरोनालाई हराउन गाह्रो छैन । ती नानीले पनि हराइन, हामी सबैले हरायौं । हामीहरुले जस्तै अरु सबैले यसैगरी कोरोनालाई जित्नुहुनेछ ।’
टोलमै संक्रमित भेटिँदा त्रासमा देखिएका नेपालगन्ज उपमहानगरपालिका–८, जोल्हनपूर्वाका स्थानीयहरु उनीहरु निको भएर घर फर्किएपछि खुशी भएका छन् । कोरोना संक्रमणमुक्त भएपछि उनीहरुलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर अस्पतालबाट बिदाइ गरिएको थियो ।
यता २१ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किँदा नेपालगन्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ । २२ औं दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगन्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए ।
टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासीले बताएका छन् । एकैसाथ धेरै सङ्क्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजानको पूर्वसन्ध्यामा खुशी साटासाट गर्ने वातावरण बनेको छ । हालसम्म बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।
सत्यपाटी ।