बाँके । नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान अद्यावधिक गरेको विवरण अनुसार हालसम्म ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार आज विहान मात्रै थप ३२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । आज विहान पुष्टि हुनेमा सर्लाहीका गडौता कविलासी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने बारामा एक महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै कपिलबस्तुको वाणगंगा नगरपालिकामा सात जना पुरुष र एक जना महिलामा संक्रमण देखिएको छ । रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका आठ जना पुरुष, भरतपुर महानगरपालिका–६ का एक जना पुरुष र काठमाडौंका एक/एक जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म तीन जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । सिन्धुपाल्चोककी एक महिला, बाँकेको नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म ४० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
कोरोना संक्रमित हुनेमध्ये अधिकांश भारतबाट फर्किएकाहरु छन् । यद्यपि पछिल्लो समय कुनै ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा समेत कोरोना देखिन थालेको छ । हालसम्म ७० जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जम्मा संक्रमितको संख्या ५४८ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा याचनासहित सच्चाइएको छ । –सम्पादक
सत्यपाटी ।