सूचनाको शक्ति - The Power Of Information

        

निको भएपछि घर फर्किएका संक्रमितले भने, ‘कोरोनालाई हराउन गाह्रो छैन’

फाइल तस्वीर

बाँके । वैशाख १९ गतेको त्यो दिन, नेपालगन्जमा बन्दाबन्दी कायमै थियो र अहिले पनि कायमै छ । शहरका सडकहरुमा नारिकहरुको भीड कम थिएन । अहिले पनि शहरमा फाट्टफुट्ट भीड लागेकै हुन्छ । तर अहिलेको भन्दा अधिक संख्यामा नागरिकहरुको भीड शहरमा हुन्थ्यो । त्यही दिन एकाएक नेपालगन्जका ६० बर्षिय वृद्धमा कोरोना संक्रमण पोजेटिभ भएको रिपार्ट आयो ।

त्यो हल्ला शहरभरी फैलियो । हल्लासँगै स्तब्ध बनेको शहर एकाएक सुनसान बन्यो । सुरक्षा गस्ती बढाइयो । त्यसपछिको तीन दिन लगातार निषेधाज्ञा जारी भयो । ती संक्रमित वृद्धको सम्पर्कमा रहेकाहरुको खोजी कार्य सुरु भयो । प्रहरी र स्वास्थ्यकर्मीको टोली ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गर्दै सम्पर्कमा रहेकाहरुको स्वाब संकलनमा जुट्यो । सो समयमा तीन चरणमा गरेर २८४ जनाको स्वाब संकलन गरिएको थियो ।

तिनै २८४ जनामध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुलाई उपचारका लागि खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन सेन्टरमा राखिएको थियो । त्यहाँ राखिएका २५ जनामध्ये २१ जना निको भएका छन् । जसमा सात बर्षिया बालिका पनि थिइन् । आइसोलेसन सेन्टरमा अझै चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

आज निको भएर डिस्चार्ज भएपछि उनीहरु निकै हर्सित देखिन्थे । कोरनालाई जितेर घर फर्किदा उनीहरुले एकै स्वरमा भने, ‘कोरोनालाई हराउन गाह्रो छैन । ती नानीले पनि हराइन, हामी सबैले हरायौं । अरु सबैले यसैगरी कोरोनालाई जित्नुहुनेछ ।’ टोलमै संक्रमित भेटिँदा त्रासमा देखिएका नेपालगन्ज उपमहानगरपालिका–८, जोल्हनपूर्वाका स्थानीयहरु उनीहरु निको भएर घर फर्किएपछि खुशी भएका छन् ।

संक्रमण नदेखिएपछि आइसोलेसन कक्षमा जान नमानेका उनीहरु समाजका अगुवाले सम्झाएपछि गएका थिए । खजुरामा जाँदा रिसाएका उनीहरु कोरोनालाई जितेपछि आज युद्धमोर्चामा विजयी भएको सिपाहीझैं खुशी हुँदै घर फर्किए । शुरुमा कोरोना देखिएका ६० वर्षीय वृद्धसँगै पछि कोरोना देखिएका २० जना गरी २१ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणमुक्त भएपछि उनीहरुलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर अस्पतालबाट बिदाइ गरिएको थियो । आइसोलेशनमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी उनीहरुलाई घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।

नेपालगन्जमा पहिलो पटक वैशाख १९ गते ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो भने ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’को आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको भयो । २६ र ३१ वैशाखमा कोरोना पुष्टि भएका चार जना आइसोलेसनमै छन् । दुई जनाको दोस्रो परिक्षण पनि पोजिटिभ देखिएकोले आइसोलेसनमै रहेको भेरी अस्पताल निमित्त मेसु डा.थापाले बताए ।

उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने उनले बताए । उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा.थापाले बताउनुभयो । ‘उहाँहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिएका छौं ।’ हालसम्म बाँकेमा १०१ जनामा कोरोना देखिएको छ । तीमध्येमा एकजनाको मृत्यु भइसकेको छ । १०० जनालाई विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा राखिएको छ ।

जिल्लामा थप संक्रमित भेटिएमा त्यसको व्यवस्थापनका लागि जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)ले थप आइसोलेसन सेन्टरहरु निर्माण गर्ने निर्णय गरेको छ । बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको बैठकले खजुरास्थित क्यान्सर अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्षमा गम्भीर अवस्थाका विरामीहरुलाई मात्र राखेर उपचार गर्ने निर्णय गरेको छ ।

बैठकले लक्षण नभएका तर पोजेटिभ रिपोर्ट आएका कोरोना संक्रमितहरुको उपचारका लागि जानकी गाउँपालिका–२ मा रहेका कृषि तालिम केन्द्र, राप्तीसोनारी गाउँपालिका–६ को सिद्धेश्वर मावि र नेपालगन्ज उपमहानगरपालिका–२१ मा रहेको महाराजा माविलाई आइसोलेसन सेन्टरको रुपमा तयार गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि सम्बन्धीत स्थानीय तहलाई जिम्मेवारी दिइएको प्रजिअ खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १८:२३