सूचनाको शक्ति - The Power Of Information

        

सरकारको ‘सिक्स टी’ फर्मूला असफल

फाइल तस्वीर

काठमाडौं । जेठ १ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भयो । कोरोनाबाट निधन भएको यो पहिलो केस थियो । दोस्रो मृत्युको केस केही फरक थियो । नेपालगञ्जका युवाले डाक्टरको हेरचाह त परको कुरा आइसोलेसन बेड पनि पाएनन् । क्वारेन्टाइनमै मृत्यु भयो । मृत्युपछि मात्र कोरोना पुष्टि भयो । पहिलो केस पनि यस्तै भएको थियो ।

गर्भवती महिलाको कोरोना परीक्षण प्रोटोकलमा नपरेको भन्दै त्रिवि शिक्षण अस्पतालले आवश्यक ठानेन । प्रधानमन्त्री, मन्त्री, सांसदको धमाधम परीक्षण भइरहँदा उनी प्रोटोकलमा परिनन् । कोरोनाको तेस्रो मृत्युको केस भने फरक थियो । हप्ताभन्दा बढी समय अस्पतालमा रहे । जेठ १ गते रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका मृतक शिक्षकको ५ गते पीसीआरमा कोरोना पोजेटिभ देखियो । त्यसको तीन दिनपछि उनको जेठ ८ गते निधन भयो। परिवारले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आएको छ ।

कोरोना संक्रमितको उपचार नपाएरै मृत्यु

बाँकेको नरैनापुरका युवाले आइसोलेसन बेड नपाएर मृत्युवरण गर्दा झन्डै तीन हजार (दुई हजार ९४७) आइसोलेसन बेड खाली थिए । सरकारी तथ्याङ्क अनुसार नेपालभर झन्डै साढे तीन हजार (३ हजार ३४९) आइसोलेसन बेड छन् । तथ्याङ्क हेर्दा ३३९ आइसोलेसन बेड त उनी निधन भएको प्रदेश ५ मा खाली थिए । प्रदेश ५ मा जम्मा ५३४ आइसोलेसन बेड छन् । जसमध्ये १९५ संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।

नेपालभर झन्डै साढे सत्तरी हजार (७० हजार ३७६) क्वारेन्टाइन बेड छन् । शुक्रबारसम्म २५ हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा छन् । ४५ हजारभन्दा बढी क्वारेन्टाइन बेड खाली छन् । सरकारले देशभरका २९ अस्पताललाई लेभल एक, दुई, तीन गरी कोरोनाकै लागि तोकेको छ । लेभल एक अन्तरगत १४ अस्पताल छन्। दुईमा १२ र लेभल तीनमा ३ अस्पताल छन् ।

अस्पताल पुर्याउनै सकस

बाँके नरैनापुरका ५९ संक्रमितले अस्पतालको उपचार पाउन तीन दिन कुर्नुपर्यो । गत सोमबार नै संक्रमण पहिचान भए पनि अस्पताल बिहीबार मात्र पुर्याइयो । तीन दिनसम्म स्थानीय सरकार र प्रहरी कहाँ राख्ने रनभुल्लमा परे । लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसनका रूपमा विकास गर्ने निर्णय भएको थियो । स्थानीयले विरोध गरेपछि त्यहाँ आइसोलेसन बेड बनाएर स्थानीय सरकारले राख्न सकेनन् ।

मुस्लिम समुदायको बाहुल्य रहेको लक्ष्मणपुरमा आइसोलेसन बनाए संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयले विरोध गरेका थिए । स्थानीय नेताहरूको असहयोगले आइसोलेसन बनाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । ‘सुरुदेखि नै हामीले संक्रमितलाई आइसोलेसनमा राख्ने योजना बनाएका थियौंतर टाढा लैजान कठिन भएकाले नजिक केन्द्र बनाउने निर्णय भयो । त्यसमा स्थानीयको मात्रै होइन राजनीतिक दलको पनि असहयोग थियो,’ उनले भने ।

दुई दिनपछि ५९ संक्रमितलाई नेपालगन्जको लायन्स डेण्टल हस्पिटलमा ल्याइए पनि सबैलाई त्यहाँ राख्न सम्भव भएन । दिनभरको पहलपछि साँझ अबेरमात्रै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, कृषि तालिम केन्द्र पिपरी र डेण्टल हस्पिटलमा राखिएको छ । अब थपिने नयाँ संक्रमितका लागि आइसोलेसन केन्द्र नबनाए अवस्था जटिल हुने स्थानीय प्रशासनको बुझाइ छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अब पनि आइसोलेसन केन्द्र नबनाए अवस्था भयावह हुने बताए । तर नयाँ ठाउँमा आइसोलेसन केन्द्र बनाउन सजिलो भने छैन । ‘तत्कालका लागि हामीले व्यवस्थापन गरेका छौँ । अब आइसोलेसन केन्द्र बनाउने ठाउँ खोजिरहेका छौँ । भेटिएको छैन,’ सहायक प्रजिअ उपाध्यायले भने ।

कहाँ चुक्दै छ सरकार ?

शुक्रवार लकडाउन गरेको ६० दिन पुगेको छ । यस बीचमा सरकारले ५० हजारलाई पनि पीसीआर गर्न सकेको छैन । अर्थात् औशतमा दिनमा हजारलाई पनि पीसीआर गर्न सकेन । हालसम्म जम्मा ३८ हजार ७७० को मात्रै पीसीआरबाट परीक्षण गरिएको छ । भारतबाट दैनिक हजारौं वैध तथा अवैध बाटो हुँदै नेपाल आए पनि उनीहरूमध्ये धेरै जनाको परीक्षण भएको छैन । अहिले देखिएका अधिकांश संक्रमित भारतबाटै आएका हुन् ।

अहिले ३८ जिल्ला र सबै प्रदेशमा कोरोना संक्रमित छन् । डाक्टर नर्स हुँदै सुरक्षाकर्मी समेतमा संक्रमण देखिएको छ । समुदायस्तरमै कोरोना व्यापक रूपमा फैलिसकेको छ । तर भेटिएकै संक्रमित पनि कयौं दिनसम्म चिकित्सकको निगरानी बाहिर छन् । उनीहरूको ट्रेसिङ व्यापकरूपमा हुन सकेको छैन । कहाँको संक्रमित ? कहाँ बस्ने ? भन्नेमै सरकारलाई अलमल छ ।

स्थायी ठेगानका आधारमा मात्रै उनीहरूको रिपोर्ट सार्वजनिक गर्दा स्थानीय प्रशासनलाई संक्रमित भेट्टाउनै मुस्किल भइरहेको छ । सर्लाही स्थायी घर भएकी काठमाडौँ बस्ने किशोरी संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको एक दिनपछि मात्रै स्थानीय प्रशासनले उनी काठमाडौँमा रहेको थाहा पाएको थियो । सर्लाही रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्मा स्वास्थ्य मन्त्रालयले किशोरी सर्लाहीको भएको भनेपछि आफूलाई सुरुमा खोज्न सकस भएको बताउँछन् ।

‘हामीले सङ्कलन गरेर पठाएको स्वाबको रिपोर्ट आएको थिएन । तर सर्लाहीको एक जना भनेपछि सुरुमा म त अच्चममा नै परेँ । पछि खोज्दै जाँदा उनी काठमाडौँमा रहेको थाहा भयो,’ उनले भने । मन्त्रालयले कहाँसम्म लापरबाही गर्दैछ भने, सर्लाही रामगनगर ७ का ११ जनाको मात्रै पीसीआर गरिएको भए पनि मन्त्रालयले १५ जनालाई संक्रमण भएको भन्ने रिपोर्ट सार्वजनिक गर्यो । यसले स्थानीय प्रशासन अलमलमा पर्यो ।

असफल ‘सिक्स टी’ फर्मूला

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नयाँ वर्षको दिन सम्बोधन गरे । कोरोना संकटका बेला नागरिकका लागि स्वास्थ्य मन्त्रीको सम्बोधन महत्त्वपूर्ण थियो । ‘सिक्स टी’को रणनीति अनुरूप कोरोनासँग जुध्ने उनको भनाई थियो । उनले ट्राभल रेष्ट्रिक्सन, टेस्ट, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेण्ट र टुगेदर अनुसार सरकार अघि बढ्ने प्रतिबद्धता गरे । तर उनले जनाएको प्रतिवद्धता अनुरूप कार्यान्वयन फितलो भयो ।

यसबीचमा लकडाउन गरिए पनि सरकारले मजदूर र निम्नवर्गीयलाई व्यवस्थापन गर्न नसक्दा आवतजावत पूर्णरुपमा बन्द भएन । अहिले धेरैजसो संक्रमित भारतबाट आएका र काठमाडौँमा पनि लकडाउनका बेला बाहिरी जिल्लाबाट आएका छन् । परीक्षण पनि व्यापक हुन सकेको छैन । संक्रमित एक ठाउँबाट अर्को ठाउँमा जान नदिन ट्रयाकिङ गरिने भनिए पनि त्यो सफल भएन । ट्रेसिङमा जटिलता भएको सरकारले नै स्वीकार गरेको छ ।

अर्को उपचार अर्थात् ट्रिटमेन्टको सूत्र पनि सफल भएको छैन । संक्रमितलाई उपचारभन्दा अस्पताल ल्याउन कठिन हुन थालेको छ । टुगेदर अर्थात् सँगसँगै भन्ने सरकारी नारालाई पनि विभिन्न तहका सरकारबीचको बेमेल, राजनीतिक दलका कार्यकर्ताको असहयोगले सफल हुन दिएका छैन । सरकारले अपनाएको रणनीति सफल भइरहेको छैन भन्ने अर्को बलियो आधार हो प्रधानमन्त्री केपी शर्मा ओलीको जेठ ६ गतेको संसद्को सम्बोधन ।

उनले कोरोनाले मान्छे मर्न नदिने आफ्नो उद्देश्य सफल नभएको बताएका थिए । संक्रमणले स्थिति भयावह हुनसक्ने बताए ओलीले । ‘हामी पनि कोरोनामुक्त देश घोषणा गर्ने अवस्थामा थियौं । तर, बाहिरबाट आउनेलाई रोक्न सकिएन । जनताको चेतना, जनप्रतिनिधिको दबाब र सीमा आएर बस्नेका कारण रोक्न सकिएन । यसले अली भयावह अवस्थामा जाने हो कि भन्ने देखिएको छ,’ उनले भनेका थिए ।

लकडाउनमै संक्रमण बढेर मान्छेको मृत्यु हुनुले पनि सरकारी रणनीति असफल भइरहेको देखिन्छ । चैत ११ गते लकडाउन घोषणा गर्दा जम्मा दुई जनामात्रै संक्रमित थिए । तर लकडाउनको दुई महिनामा संक्रमितको संख्या ५०० पुग्दैछ । तथ्याङ्कले संक्रमण लकडाउनकै बेला फैलिएको देखाउँछ । सरकारले संक्रमण रोक्नका लागि बाध्य भएर लकडाउन गर्नु परेको प्रष्टीकरण दिएको थियो । त्यो सरकारको उद्देश्य पनि असफल भइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १८:१८