सूचनाको शक्ति - The Power Of Information

        

क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी, कोरोना सङ्क्रमण सुरक्षा चुनौती

बाँके । जिल्ला कारागार बाँकेमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले त्यहाँ कोरोना भाइरस सङ्क्रमण जोखिम बढेका छन् । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चुनौती बढेको हो ।

मानवबस्तीको मध्यभागमा रहेका कारागारका कारण बस्ती क्षेत्रका नागरिकमा पनि कोरोनो सङ्क्रमणको जोखिम बढेको जेलर देवेन्द्र श्रेष्ठले बताए । उनले तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५०, पुरुष ७४८ र दुई आश्रित बालकसहित ८०० कैदीबन्दी राखिएको जानकारी दिए ।

चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौतीसमेत थपिएको उनको भनाइ छ । उनका अनुसार कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन अहिलेसम्म विशेष प्रबन्ध नभएकाले जोखिमको सम्भावना बढेको छ । कैदीबन्दी बिरामी परेमा स्यानिटाइज गरेर स्थानीय भेरी अस्पताल लैजाने गरिएको छ ।

अस्पताल लैजाँदा सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा जिल्लाका सरोकारवाला निकाय पनि यस विषयमा अहिलेसम्म मौन देखिएका छन् । नेपालगन्ज–१० स्थित सो कारागारको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीबन्दीको सङ्ख्या बढदै गएको, वरपर अत्यन्तै फोहर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ ।

फोहरकै कारण सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । यी सबै समस्याबीच अहिले कारागार प्रशासनलाई कोभिड–१९ सङ्क्रमणको त्राससमेत बढेको छ । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १७:३४