नेपालगन्जमा रहेको सरस्वती संगीतालय । फाइल तस्वीर
बाँके । जहाँ हरेक दिन ‘सारेगमपधनिसा’को धुन गुञ्जिथ्यो । २०२८ सालमा स्थापना भएको नेपालगन्ज–१३ मा रहेको सरस्वती संगीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका संगीत गुरु थिए । संगीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको संगीतालयमा गीतसंगीतका धुनहरु बज्न छाडेका छन् ।
संगीतालयको भवन तथा प्रांगणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ । सुमधुर गीतसंगीतका धुनहरु गुन्जिने संगीतालय सुनसान छ । संगीतकार शर्माको अगुवाईमा स्थापना भएको संगीतालयमा द्वन्द्वकालिन समयदेखि नै यहाँ संगीत गुन्जिन छाडेको छ । शर्माको निधनपछि संगीतालय अस्तव्यवस्त छ ।
२०५६ मा गठित संगीतालय व्यवस्थापन समितिले काम गर्न नसक्दा संगीतालयमा कुनै संगीत गुञ्जिएको छैन । संगीतालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज शर्मा भन्छन्, ‘विगतमा संगीतालयले धेरै संगीतकर्मी सिर्जना गरेको भए पनि अहिले कसैले पनि गुरु स्थललाई फर्केर हेरेका छैनन् ।’
नयाँ पुस्ता संगीत सिक्न आकर्षित भए पनि संगीतालय नै बन्द भएपछि संगीतको रौनकमा रम्न चाहने युवाहरु बरालिन थालेका छन् । हार्मोनियममा राम्रो दख्खल भएका नेपालगन्ज–१० का युवा मिलनप्रकाश श्रेष्ठ भन्छन्, ‘संगीतालय सञ्चालन गर्ने चाहना छ । तर, संगीतालयको अवस्था जीर्ण रहेको र पुराना सामाग्रीहरु नभएकाले समस्या देखिएको छ ।’
स्थानीयहरुका अनुसार विगतमा जस्तै दर्जनबढि संगीत सिक्न पाइने संगीतालयमा संगीत प्रशिक्षण सुचारु भए धेरै युवाहरु कुलतबाट जोगिने र समय बिताउन सजिलो हुने थियो । व्यवस्थापन समितिका अध्यक्ष शर्माका अनुसार आफुहरुले संगीतालय सञ्चालन गर्न धेरै प्रयास गरे पनि कहीँ कतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या भएको हो ।
व्यवस्थापन नहुँदा संगीतालयमा रहेका करिब ५ लाख मुल्य बराबरका सामाग्री हराएका छन् भने सामाग्री कसले लगेको हो भन्ने पहिचान नभएको अध्यक्ष शर्माले बताए । अहिले संगीतालयको भवनसमेत जीर्ण बनेको छ । बर्षात्मा छतबाट पानी चुहिँदा भवनका भित्ताहरु चर्किएका छन् । संगीतालयको प्रांगणमा रहेको सरस्वतीको मूर्ति जीर्ण बन्दै गएको छ ।
द्वन्द्वकालमा बन्द भएको संगीतालय आर्थिक अभावका कारण जीर्ण अवस्थामा पुगेको छ । संगीत सिक्न आउने संगीतप्रेमी युवाहरु संगीतालयको अवस्था देख्दा निराश भएर फर्किने गरेका छन् । त्यसो त गायक अर्जुन मिलन अर्थात् संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्यले पनि यही संगीतालयबाट संगीतिक धनुमा ताँदो लगाएका हुन् ।
कानुनविद् अर्जुन मिलन आइएल पढ्ने क्रममा नेपालगन्जमा बस्दा यही संगीतालयबाट संगीत सिकेका थिए । संगीतालयले नेपालगन्जमा अर्जुन मिलनलाई कानुनमा प्रमाणपत्रको अध्ययनमात्र होइन संगीतप्रतिको लगावमा पनि तानेको थियो । नेपालगन्जका संगीतकार दिपक सल्मानी, दिलिप परियार, सीता गुरुङ, कन्हैयासिंह, बिनोदसिंह सिन्हाजस्ता साहित्यिक हस्तीहरु पनि यहाँकै उत्पादनभित्र पर्दछन् ।
संगीत साधकहरुको सिक्ने थलोका रुपमा स्थापना भएको संगीतालय अहिले एउटा ‘घर’मा परिणत भएको छ । अहिलेको समयमा व्यक्तिगतरुपमा कैयन संगीतालय स्थापना भए पनि समुदायको पहलमा स्थापीत सरस्वती संगीतालयलाई पुनः सञ्चालन गर्नुपर्ने स्थानीहरुको भनाई छ ।
सत्यपाटी ।