सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामुक्त भएर घर फर्किए २१ जना

फाइल तस्वीर

बाँके । नेपालगन्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । नेपालगन्ज उपमहानगरपालिका–७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगन्ज–८ जोल्हनपूर्वाका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएर घर फर्किएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराइरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताए ।

उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइएको छ । सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरु लगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको थियो ।

अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठको भनाइ छ ।

नेपालगन्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् । देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर २१ जना कोरोना संक्रमित घर फर्किएका हुन् । कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ नभेटिएपछि डिस्चार्ज गरिएको छ ।

बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । यसरी शुक्रबार डिस्चार्ज हुनेमा बाँकेकै पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जनाले कोरोनालाई जितेर २० दिनपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १२:४३