फाइल तस्वीर
बाँके । मुलुक बन्दाबन्दी (लकडाउन) भएको दुई महीना पुग्न दुई दिन बाँकी छ । जेठ २० गतेसम्म पुनः बन्दाबन्दीको अवधि थपिएको छ । कोरोना संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि मुलुकलाई पूर्णरुपमा लकडाउन गरिएको छ । कहीँकतै खुकुलो देखिए पनि समग्रमा हेर्दा पूर्णरुपमा लकडाउन नै छ । कतै निषेधाज्ञा त कतै कफ्यूसमेत लगाइएको छ ।
मुलुक लकडाउन भएसँगै देशभर अत्यावश्क सवारीबाहेक अन्य सवारी पूर्णरुपमा ठप्प छन् । शहरमा सवारी साधनको चाप शुन्यताजस्तै छ । सडक सुनसान बनेका छन् । नागरिकहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएका छैनन् । शहरमा हुने ध्वनि र वायु प्रदुषण पनि सङ्लिएको छ । वातावरण स्वच्छ बनेको छ ।
शहरमा जनसंख्याको बढ्दो चाँपसँगै सवारीको चाप पनि उत्तिकै बढिरहेको छ । औसतमा प्रतिघर एउटा सवारीसाधन छ । शहरमा दैनिकजसो ट्राफिक व्यवस्थापनमा कठिनाई भइरहेको हुन्छ । तर, लकडाउनले शहर पुरै बदलिएको छ । शहरमा सुरक्षाकर्मी, एम्बुलेन्स र अन्य अत्यावश्यक बाहेक अन्य सवारी गुडेका छैनन् ।
अहिले ट्राफिक जाम शुन्यमा झरेको छ, मादक पदार्थ सेवन (मापसे) चाँज गर्नुपरेको छैन । अन्य ट्राफिक कारबाही गर्नुपरेको छैन । लकडाउनले ट्राफिक व्यवस्थापनलाई आफै नियन्त्रित गरिदिएको छ । शहरमा ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने ट्राफिक प्रहरीलाई लकडाउनपछि ‘हाइसन्चो’ जस्तै भएको छ ।
‘जनसंख्याको अनुपातमा ट्राफिक प्रहरीको संख्या न्यून हुँदा ट्राफिक व्यवस्थापनमा निकै कठिनाई हुन्थ्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पबिन्द्र बमले भने, ‘अहिले सवारी व्यवस्थापनको काम निकै कम छ । पहिलेजस्तो दिनभर चोकमै खटिएर दुख गर्नुपर्ने अवस्था छैन ।’
उनका अनुसार बाँकेमा शहरी क्षेत्रको विकाससँगै सवारी साधनको चाप निकै बढि छ । जनसंख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । ‘दरबन्दी अभावमै पनि हामीले यहाँको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइरहेका छौं । अहिले लकडाउनका कारण ट्राफिक व्यवस्थापनको बोझ निकै कम भएको छ,’ उनले भने ।
यहाँको जनसंख्या वृद्धिदर उच्च रहे पनि दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या निकै समस्या छ । २४ जनाको दरबन्दी रहेको बाँकेमा ४० जना काजमा आएका छन् । काजमा आएका ट्राफिक प्रहरीको भरमा चलिरहेको ट्राफिक व्यवस्थापनलाई लकडाउन सहज बनाइदिएको छ । बन्दाबन्दीले ट्राफिक प्रहरीलाई केही राहत भएको छ ।
ट्राफिक प्रहरीलाई शहरोन्मुख क्षेत्रहरु खजुरा, कोहलपुर, शम्सेरगन्ज लगायतका क्षेत्रका साथै पूर्वपश्चिम राजमार्गको ७० किलोमिटर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन गर्नुपर्छ । बढ्दो जनसंख्यासँगै सोही अनुपातमा चल्ने सवारीको संख्याअनुसार बाँकेमा कम्तीमा ८० जना ट्राफिक प्रहरीको दरबन्दी चाहिने प्रहरी निरीक्षक बमले बताए ।
ट्राफिक प्रहरीमा दरबन्दी संख्या न्यून हुनु, सवारीको बढ्दो चाप तथा सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले बाँकेको ट्राफिक व्यवस्थापन निकै जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो । लकडाउनयता सवारीको बढ्दो चाप तथा सवारी नियम उल्लङ्घन शुन्यमा झरेको प्रहरी निरीक्षक बमको भनाई छ ।
प्रहरी निरीक्षक बम भन्छन्, ‘सवारी चालक अनुमतिपत्र, ब्लुबुक चेकजाँचलगायत सवारी नियम उल्लङ्घन चेकजाँच सामान्यरुपमा भए पनि पहिलेजस्तो १५ घण्टासम्म सडकमा खटिनुपर्ने अवस्था छैन । आन्तरिक कामलाई व्यवस्थित गर्ने, लकडाउन अवधिमा जिल्ला भित्रिने र बाहिरिने सवारीको तथ्यांक राख्ने काम भइरहेको छ ।’
बाँकेमा ६० हजारको हाराहारीमा दैनिक सवारी साधन गुड्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी साधनको यो संख्यालाई हेर्ने हो भने एकजना ट्राफिक प्रहरीलाई करिब ९५२ वटा सवारी साधन हेर्नुपर्ने हुन्छ । अहिले अत्यावश्क दैनिक ५०० को हाराहारीमा मात्रै सवारीसाधन सञ्चालन हुने गरेको अनुमान छ ।
रु.एक करोड बढी राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेदेखि चैत १० गतेसम्म रु.एक करोड तीन लाख १० हजार राजस्व संकलन गरेको छ । लकडाउन सुरु भएयता भने राजस्व संकलन शुन्य देखिएको छ । ट्राफिक प्रहरीले लकडाउन सुरु हुनुअघि सबैभन्दा धेरै पाँच हजार ४८४ ट्रकलाई गरेको कारबाहीमा रु.२९ लाख ४२ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै कारबाहीमा परेका तीन हजार ७७५ वटा कारजीपबाट रु.१८ लाख ५८ हजार, तीन हजार २१ वटा मोटरसाइकलबाट १८ लाख २० हजार, तीन हजार ४६७ वटा बसबाट रु.१७ लाख ५७ हजार, दुई हजार ३९२ ट्रयाक्टरबाट रु.१३ लाख ६५ हजार र टेम्पो तथा रिक्साबाट चल्ने ८५५ वटा रिक्साबाट रु.चार लाख ५२ हजार राजस्व संकलन गरेको छ ।
कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० बर्ष उमेर समूहका विना लाइसेन्स तीव्र गतीमा सवारी चलाउनेको संख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ । साउन १ गतेदेखि हालसम्म १४९ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा ५३ जनाको मृत्यु, ११७ जना गम्भीर घाइते र ९१ जना सामान्य घाइते भएका छन् ।
यस अवधिमा २२ वटा बस, १७ वटा ट्रक तथा ट्रिप्पर, २१ वटा कारजीप, ६ वटा ट्रयाक्टर, ११० मोटरसाइकल र ८ टेम्पो तथा रिक्सा, ५ वटा माइक्रो बस, साइकल ११ वटा दुर्घटना परेका छन् । लकडाउनको अवधिमा मात्रै १७ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सत्यपाटी ।