बाँके । नेपालगन्ज–सुर्खेत सडकखण्डको कारकाँदोमा रहेको यातायात व्यवस्था कार्यालय अचेल सुनसान छ । कार्यालय सुनसान बनेको सात हप्ता बितिसक्यो । सेवाग्राहीको उपस्थिति शुन्य छ । कर्मचारी फुर्सदिला छन् । नयाँ लाइसेन्सको नयाँ आवेदन, सवारीसाधन दर्ता, नविकरण, नामसारी लगायतका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ ।
विभिन्न सेवा लिन दैनिक सयौं सेवाग्राहीहरु त्यहाँ पुग्ने गर्थे । बन्दाबन्दी (लकडाउन) सुरु भएयता कार्यालयमा सेवाग्राहीको उपस्थिति शुन्य छ । कामको चापलाई कम गर्न कर्मचारीहरुलाई भ्याइनभ्याई हुन्थ्यो । चैत ९ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका कामहरु बन्द गरेसँगै अहिले यातायात कार्यालयले दिने आन्तरिक रिपोर्टिङ्गबाहेकका सबै सेवा बन्द छन् ।
एघार महीना निकै चाप हुने यातायात कार्यालय झण्डै दुई महीनादेखि बन्द छ । अझ चैतपछि धेरै राजस्व संकलन हुने अवधिमा बन्दाबन्दीका कारण राजस्व शुन्यमा झरेको छ । यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमूख बालकृष्ण चौधरीका अनुसार नयाँ आर्थिक बर्ष नजिकिँदै गर्दा राजस्व संकलनको दर उच्च रहन्थ्यो । धेरै सवारी साधनको दर्ता अवधि सकिएको र कागजात फेल भएका छन् ।
‘चैत महीनाभित्र नीजि सवारी साधन नविकरण गरिसक्नुपर्ने भएकाले राजस्व संकलन दर पनि ह्वात्तै बढ्थ्यो भने नयाँ सवारी साधन पनि यो समयमा धेरै दर्ता हुन्थे,’ उनले भने, ‘बन्दाबन्दी भएसँगै कार्यालय बन्दजस्तै छ, राजस्व संकलन शुन्य छ । नयाँ सवारी दर्ता, नविकरण, नामसारीसँगै नयाँ सवारी चालक अनुमतिपत्र रोकिँदा लाखौं राजस्व घाटा भइरहेको छ ।’
यातायात कार्यालय बाँकेले चाुल आर्थिक बर्षको फागुन मसान्तसम्म रु.२९ करोड ६९ लाख २ हजार २२८ राजस्व संकलन गरेको छ । जसमध्ये सबैभन्दा धेरै सवारी साधन कर संकलन शीर्षकमा रु.२० करोड ७१ लाख ८४ हजार ९७२ राजस्व संकलन गरेको छ भने सबैभन्दा कम प्रशासनीक दण्ड, जरिवाना एवं जफत शीर्षकमा रु.८४ हजार ५०० राजस्व संकलन गरेको निमित्त कार्यालय प्रमूख चौधरीले जानकारी दिए ।
कार्यालयले चालक अनुमति पत्र र सवारी दर्ता किताब दर्ता सम्बन्धी दस्तुर शीर्षकमा रु.६ करोड ९६ लाख २३ हजार ९१६ र यातायात क्षेत्रको आम्दानी शीर्षकमा रु.१ करोड ३७ लाख ९८ हजार ८४० राजस्व संकलन गरेकोमा बन्दाबन्दीको अवधीमा चार वटै शीर्षकमा राजस्व संकलन भएको देखिँदैन । कार्यालय प्रमूख चौधरीका अनुसार अब यस आर्थिक बर्षको चार महीनामा बन्दाबन्दीका कारण राजस्व संकलन हुने अवस्था छैन ।
कामको अत्याधिक चाप हुने मालपोत कार्यालय पनि पूर्णरुपमा बन्द छ । चैत ११ गतेदेखि मालपोत कार्यालयको प्राङ्गणमै सेवाग्राहीको उपस्थिति भएको देखिँदैन । मुलुकमा बन्दाबन्दी सुरुभएसँगै जग्गा कारोबार पूरै ठप्प छ, कार्यालय बन्द भएकै कारण दर्ता नामसारी लगायतका सेवाहरु पनि ठप्प छन् । सधैं भीडभाड हुने मालपोत कार्यालय अहिले दुई महीनादेखि सुनसान बनेको छ ।
मङ्सिरदेखि असार महीनासम्म मालपोत कार्यालयमा कामको अत्याधिक चाप हुन्छ । यो अवधिमा धेरै राजस्व संकलन हुने चैतदेखि असार महीनासम्ममा हो । यो समयमा प्रतिमहीना रु.१० करोडको हाराहारीमा राजस्व संकलन हुने गरेको मालपोत कार्यालय बाँकेका प्रमूख प्रेम दोल्याल बताउँछन् । बन्दाबन्दीका कारण यो समयमा राजस्व संकलन शुन्यमा झरेको छ ।
मङ्रिदेखि जग्गाको कारोबार बढ्ने गरेपनि यस आर्थिक बर्षमा चैत लागेपछि कारोबार ह्वात्तै बढेको थियो,’ उनले भने, ‘जग्गाको नयाँ नामसारी, कित्ताकाँट, बकस, रोक्का, फुकुवा लगायतका सबै काम रोकिएका छन् । यस आर्थिक बर्षको चैतदेखि असार महीनासम्म झण्डै रु.३० करोडदेखि रु.४० करोडसम्म राजस्व गुम्ने अनुमान गरेका छौं ।’ गत आवमा मात्रै मालपोतले रु.७० करोड राजस्व संकलन गरेको थियो ।
यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा मात्रै होइन, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज भन्सार कार्यालयको राजस्व संकलन दर पनि निकै घटेको छ । चालु आर्थिक बर्षमा रु.५ अर्ब ९ करोड ५८ लाख ७७ हजार राजस्व संकलन लक्ष्य राखेकामा हालसम्म रु.२ अर्ब ५५ करोड, ४५ लाख २९ हजार (५०.१३ प्रतिशत) राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत हुर्मत मिजारले जानकारी दिए ।
उनका अनुसार चालु आवको साउनदेखि चैत ११ गतेसम्म रु.रु.२ अर्ब ५२ करोड ९ लाख ३ हजार ५९७ राजस्व संकलन गरेकोमा बन्दाबन्दी सुरु भएयता चैत १२ गतेदेखि जेठ ४ सम्म रु.३ करोड ३६ लाख २५ हजार ३६८ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार आर्थिक बर्षको समाप्ती नजिकिँदा राजस्व संकलन दर उच्च हुने भए पनि बन्दाबन्दीका कारण प्रभावित भएको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्य नजिक राजस्व संकलन गरिरहेको कार्यालयले बन्दाबन्दी सुरु भएयता लक्ष्यभन्दा निकै कम मात्रामा राजस्व संकलन गरेको कर अधिकृत मिजारले जानकारी दिए । ‘विभागले तोकेको लक्ष्य अनुसार नै चैत ११ गतेसम्म राजस्व संकलन भइरहेको थियो । लकडाउन सुरु भएपछि लक्ष्यमा पुग्ने सम्भावना देखिँदैन,’ उनले भने ।
आन्तरिक राजस्व कार्यालय नेपालगन्जले आयकर, घरबहाल कर, व्याज कर, मूल्य अभिबृद्धि कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर, अन्तशुल्क कर लगायतका करबाट राजस्व संकलन गर्दै आएको छ । कार्यालयले आयकर, मूल्य अभिबृद्धि कर र अन्तशुल्कमा हरेक महिना लक्ष्यभन्दा बढि उठाउँदै आएको थियो । अन्य करहरु भने असार मसान्तमा मात्रै पुरै उठ्ने तर, मसिक लक्ष्यमा नउठे पनि आवको अन्त्यमा उठ्ने गरेको थियो ।
यस्तै नेपालगन्ज भन्सार कार्यालयले भने यो अवधिमा केही राजस्व संकलन गरिरहेको छ । बन्दाबन्दी सुरु भएयता कार्यालयले चैत महीनामा रु.६८ करोड २६ लाख ८८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चैत महीनामा रु.१ अर्ब १६ करोड ५२ लाख ५७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा रु.४८ करोड २५ लाख ६९ हजार कम राजस्व संकलन भएको जनाएको छ ।
त्यस्तै कार्यालयले वैशाख महीनामा रु.१ अर्ब २३ करोड ८० लाख ९४ हजार रावस्व संकलन गर्ने लक्ष्य राखेकोमा रु.७१ करोड ९५ लाख ११ हजार कम राजस्व स.कलन गरेको छ । यो महीनामा ५१ करोड ८५ लाख ८३ हजार मात्रै राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख शान्तिराम निरौलाले जानकारी दिए । ‘बन्दाबन्दीका कारण हामीले लक्ष्य पुरा गर्न सकेनौं ।’
उनका अनुसार यस आर्थिक बर्षमा कार्यालयले रु.१५ अर्ब ४२ करोड ७५ लाख १४ हजार राजस्व संकलनको लक्षय राखेकोमा हालसम्म रु.९ अर्ब २८ करोड ३५ लाख ५१ हजार राजस्व संकलन भएको छ । यो अवस्थालाई हेर्दा अब लक्ष्यमा पुग्न सक्ने सम्भावना निकै कम भएको उनको भनाई छ । भन्सार कार्यालयले फागुन मसान्तसम्म रु.८ अर्ब ८ करोड २२ लाख ७९ हजार राजस्व संकलन गरेको थियो ।
बन्दाबन्दी सुरु भएयता राजस्व संकलनमा गिरावट आएकोले अबका दुई महीनामा लक्ष्य भेट्टाउन सम्भव नभएको बताउँदै भन्सार कार्यालयका प्रमूख निरौलाले भने, ‘कारोना संक्रमणले राजस्व संकलनमा गिरावट आएको छ । लक्ष्यमा पुग्नका लागि हामीले झण्डै रु.६ करोड राजस्व संकलन गर्नुपर्ने हुन्छ । अबका दुई महीनामा त्यो अनुसार राजस्व संकलन हुने अवस्था नभएकाले लक्ष्यमा पुग्न सक्ने अवस्था छैन ।’
बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपत निकै न्यून छ भने र यहाँका ठूला उद्योगहरु पूर्णरुपमा ठप्प हुँदा उद्योगका लागि चाहिने कच्चा पदार्थको आयात घटेकाले राजस्वमा निकै गिरावट आएको उनले बताए । यस नाकाबाट चामल, चिनी, तरकारी तथा फलफूल, लत्ताकपडा लगायत पनि आयात हुने गर्छ भने यहाँबाट ठूलो मात्रामा जडिबुटीजन्य कच्चा पदार्थ निर्यात हुँदै आएको छ ।
यस आर्थिक वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न चुनौती रहेका बेला चैत ११ गतेदेखिको लकडाउनका कारण अत्यावश्यक वस्तु खाद्यान्न र तरकारीबाहेक अन्य सामान नआउँदा राजस्व संकलन दर ह्वातै घटेको भन्सार कार्यालयले जनाएको छ । बन्दाबन्दीको अवधिमा अझै लम्बिएका कारण राजस्व संकलनमा ठूलो असर पर्ने कार्यालय प्रमुख निरौलाको भनाई छ ।
फागुन, चैत, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यहिबेला कोरोना संक्रमणका आयात–निर्यातमा असर परेपछि राजस्व संकलन न्यून भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख निरौलाको भनाई छ । नेपालगन्ज नाकाबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ र उद्योगका लागि चाहिने कच्चा पदार्थको आयातबाट राजस्व संकलन हुँदै आएको छ ।
सत्यपाटी ।