सूचनाको शक्ति - The Power Of Information

        

कटानले सीमास्तम्भ नदीमा

टीकापुर । कैलालीको टीकापुर ८ श्रीलंकास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमा स्तम्भसमेत जोखिममा छन् । यो वर्षको नदी कटानले ७०१/१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघिदेखि कटान सुरु गरेको हो ।

नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए । ‘नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ,’ नगरप्रमुख रावलले भने, ‘साता नबिल्दै स्तम्भ नदीमा मिसियो ।’ प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताए ।

‘नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ,’ रावल भन्छन्, ‘अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो ।’ यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो । २०४० सालमा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीय बताउँछन् । २०४० सालमा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो । तिनै गाउँ अहिले बगर बनेका स्थानीय झपट बुढाले बताए ।

अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ । तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताए । उनले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिए । नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् ।

त्यस्तै सहायक सीमास्तम्भ ७०२/२ देखि ७०२/७ सम्म, ७०४/३, ७०४/४, ७०४/६ र ७०५/३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ । तीमध्ये धेरैजसो सीमास्तम्भ पुनर्निर्माणको समस्या भइरहेको छ । ‘सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ,’ सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भने, ‘कुन ठाउँमा पुनर्निर्माण गर्ने भन्ने अन्योल छ ।’

कैलालीमा जम्मा २८२ सीमास्तम्भ छन् । तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं. ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिए । ‘हामी मर्मतको काम गरिरहेका छौँ,’ धामीले भने, ‘दुई देश नेपाल–भारत मिलेर मर्मतको काम भइरहेको छ । कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन् । बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?’ रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १०:५७