काठमाडौं । महानगरीय प्रहरी परिसर अन्तरगत रहेका दुई प्रहरीलाई कोरोना संक्रमण देखिएपछि काठमाडौत्रिका सबै सुरक्षा निकायमा त्रास उत्पन्न भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखा तथा अन्य वृत्तहरुमा पनि त्रास उत्पन्न भएको हो ।
स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञावालीले सबै प्रहरीको कोरोना परीक्षण गर्ने तयारी भैरहेको जानकारी दिए ।
उनका अनुसार फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीहरुको कोरोना परीक्षण आवश्यक रहेकाले परीक्षणको तयारी भएको हो । प्रहरी स्रोतका अनुसार कालिमाटी वृत्त, महिला सेल र टाफिक प्रहरी कार्यालय सिल गरिएको छ । यसअघिको तथ्यांकअनुसार ९ जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ को संक्रमण पुष्टी भइसकेको छ। पुष्टी हुनेहरुमा सुरक्षाकर्मीतर्फ २ जना नेपाली सेना, सशस्त्र प्रहरीका १ जना सई र २ जवान, नेपाल प्रहरीका १ सई, २ जवान र राष्ट्रिय अनुसन्धानतर्फका १ असई कोभिड—१९ बाट संक्रमित भएका थिए ।
सत्यपाटी ।