सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितलाई सांसद लिङ्देनको अपिल, ‘नआत्तिनुस्, संयम् हुनुस्’

झापा । झापाको क्षेत्र नं. ३ अन्तरगत कचनकवलमा कोरोना संक्रमित भेटिएपछि त्यहाँका निर्वाचित सांसद राजेन्द्र लिङ्देनले मतदाता र सबैलाई नआत्तिन र सावधानी अपनाउन अपील गरेका छन् । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित देखिने बित्तिकै आफ्नो निर्वाचन क्षेत्रमा खटिएका सांसद लिङ्देन प्रायः सबै टोलमा पुगेर अपनाउनुपर्ने सुरक्षा सम्बन्धमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी, स्थानीय संघसंस्था र आममतदातासँग छलफल गरिरहेका थिए ।

तर सीमावर्ती गाउँ बाह्रदशीमामा भारतबाट आएका स्थानीयमा पहिलो संक्रमण देखिएपछि कचनकवलमा समेत उच्च सतर्कता अपनाइएको थियो । भारतबाट आएका स्थानीयमा संक्रमण भेटिएपछि उनले आम मतदातालाई नआत्तिन र सावधानी अपनाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमा उनको अपिल जस्ताको त्यस्तै :

ज्याला मजदुरीका सन्दर्भमा भारतका विभिन्न स्थानमा रहेका दाजुभाइहरूलाई आफू कार्यरत स्थलमा खान बस्नसमेत गाह्रो भएपछि जोखिम मोलेर आफ्नो देश फर्किनुको कुनै विकल्प थिएन । अचानक भित्रिने ठूलो संख्यासंगै ठूलै संख्यामा संक्रमितहरु पनि देखिएका छन । अझै पनि भारतबाट दाजुभाइहरु आउने क्रम जारी छ र संक्रमितहरुको संख्या बढन पनि सक्छ । यसबाट आतंकित हुनेभन्दा पनि संक्रमण समाजमा फैलन नदिन निम्न कुराहरूमा ध्यान पुर्याउन हार्दिक अपिल गर्दछु ।

  • भारतबाट आउने कुनै पनि दाजुभाइलाई परिवार र समाजमा घुलमिल हुन नदिई सोझै क्वारेन्टाइनमा पठाउने ।
  • हुलमा कोरोना खोज्दै गएन र घरमै बसियो भने यो हावाबाट सर्दैन र घरघरमा खोज्दै आउदैन ।
  • यो संक्रमणबाट बच्ने भनेकै अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने हो ।
  • समाजमा भ्रम र आतंक सिर्जना गर्ने कुनै काम नगर्ने ।
  • यो कुनै जात, धर्म, पार्टी र देशको मात्र होइन समग्र मानव जातिमाथिको समस्या हो भन्ने बुझ्ने ।
  • सरकारको निर्णयको पूर्ण पालना गरौं । आफू, परिवार, समाज र सिंगो मानव जातिविरूद्धको यो युद्धमा धैर्य, आत्मसंयम् र अनुशासनका माध्यमबाट कमभन्दा कम क्षतिमा विजय हासिल गरौं ।

नभुलौं ‘यो मात्रै एउटा यस्तो लडाई जो घरमै बसेर मात्र जितिन्छ ।’

https://www.facebook.com/rajendra.lingden.5/posts/2997199723726708

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १०:१४