सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित बढेपछि ‘सीसीएमसी’ सक्रिय

बाँके । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लास्थित कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) सक्रिय बनेको छ । सीसीएमसीको आज बसेको बैठकले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पुरै भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको लक्षण नभएका संक्रमितहरुलाई राख्न खजुरास्थित कृषि व्यवसाय सहयोग प्रवद्र्धन तथा तालिम केन्द्र र लक्षण भएका संक्रमितहरुको उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई उपयोग गर्ने निर्णय गरेको छ ।

बैठकले थप आइसोलेसन निर्माण आवश्यक सहयोग गर्न अनुरोध गर्दै त्यसका लागि जिल्लास्तरमा तयारीसमेत थालिएको छ । साथै बैठकले संक्रमितको मृत्यु भएमा त्यसको व्यवस्थापनका लागि सुरक्षात्मक सामाग्री र किटहरुको व्यवस्था गर्न केन्द्रिय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै सीसीएमसीको बैठकले कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५९ जनामध्ये २५ जनालाई लायन्स डेण्टल अस्पताल नेपालगन्ज र ३४ जनालाई कृषि विकास बैंकको तालिम केन्द्र कोहलपुरमा राख्ने निर्णय पनि गरेको जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलिन नदिन पूर्वतयारी फितलो रहेको गुनासो आइरहेको बेला सीसीएमसीको सक्रियता देखिएको हो । पूर्वतयारी कमजोर हुँदा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५९ जना संक्रमितहरु क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरुसँगै बस्नुपरेको भन्दै स्थानीय प्रशासनको कडा आलोचना र तयारीबारे प्रश्न उठिरहेका थिए ।

सोमबार नै नरैनापुरस्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरिए पनि प्राविधिक कारणले सम्भव नभएपछि कृषि व्यवसाय सहयोग प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई आइसोलेसन केन्द्रका रुपमा उपयोग गर्ने तयारी थालिएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १८:५८