सूचनाको शक्ति - The Power Of Information

        

मुम्बईबाट सँगै आएका थिए ४७ संक्रमित

बाँके । बाँकेको नरैनापुरमा सोमबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये सोमबार अपरान्ह पुष्टि भएका ४७ जना भारतको मुम्बईबाट सँगै आएको जनाइएको छ । उनीहरु मुम्बईबाट कहिले दिल्लीसम्मको यात्रा बसमा गरेका थिए भने त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको बुझिएको छ ।

‘कोरोना संक्रमणबाट मृत्यु भएका २५ बर्षिय युवक र सोमबार संक्रमण देखिएका ४७ जना मुम्बईबाट एउटै बसमा लामो दुरीको यात्रा गरेको देखिन्छ,’ नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले भने । नेपाल प्रवेशपछि भने क्वारेन्टाइनमा राखिएकोले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको उनले बताए ।

‘नरैनापुरका १३ वटा क्वारेन्टाइनमा रहेका सबै भारतबाटै आएका हुन् । तीमध्ये ४७ जना एउटै समुहमा मुम्बईदेखि नेपालसम्म आइपुगेको देखिन्छ, प्रमूख प्रशासकीय अधिकृत खरालले भने, बीचमा अरु व्यक्ति पनि थपिएको भन्ने छ, एकिन भएको छैन ।’ मृतक र सोमबार भेटिएका संक्रमितमध्ये धेरैलाई भोजपुरस्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यसअघि संक्रमण पुष्टि भएका आठ जनामध्ये भोजपुरस्थित दिपेन्द्र माविकै तीन जना र जयकिसान माविमा दुई जना, नेरा प्रावि शंकरनगरमा एक जना, आदर्श मावि लक्ष्मणपुरमा एक जना र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो । संक्रमण पुष्टि भएका सबै उनीहरुसँगै क्वारेन्टाइनमा राखिएकाहरु धेरै रहेको पालिकाले जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले पनि संक्रमित सबै भारतको एउटै सहर मुम्बईबाट आएको जानकारी दिए । ‘सबै जना कोरोनाको हटस्पट भारतको मुम्बईबाट आएका हुन् । उनीहरुमध्ये धेरैजना मृतकसँगै आएको देखिन्छ,’ उहाँले भन्नुभयो । नरैनपुरका विभिन्न २३ वटा क्वारेन्टाइनमा रहेका सबै वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म भारतबाट आएका हुन् ।

पूर्वतयारी फितलो

बाँकेको कोरोना भाइरस संक्रमण फैलिन नदिन गरिएको पूर्वतयारी नरैनापुरको अवस्थाले निकै फितलो रहेको प्रष्ट पारेको छ । पूर्वतयारी कमजोर हुँदा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५९ जना संक्रमितहरु क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरुसँगै बस्नुपर्यो । संक्रमण पुष्टि भएपछि उनीहरु १७ घण्टा अन्य व्यक्तिहरुसँगै राखिएको थियो ।

सोमबार साँझ सवा चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुरका ४७ जना र राती १० बजे १२ जना गरी ५९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । सोमबार नै संक्रमण पुष्टि भए पनि मंगलबार विहान साढे ९ बजेमात्रै उनीहरुको पहिचान गरेर क्वारेन्टाइनबाट अलग गराउन सुरु गरिएको थियो ।

संक्रमितहरुलाई विहान १० बजेदेखि जयकिसान मावि नजिकै रहेको आँप बगैंचामा राखिएको छ । उनीहरुलाई नेपालगन्जस्थित लायन्स डेण्टल अस्पताल र कोहलपुरको पिपिरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङ्गस्थित बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभावमा हालसम्म पनि उपचार पाउन नसकेको संक्रमितहरुको गुनासो छ ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनले चासो नदेखाउँदा त्राससँगै जोखिम बढेको छ । गाउँपालिकाको स्वास्थ्य टोलीले विहान नौं बजेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनबाट अलग गरेर आँप बगैचामा राखिएको छ ।

नरैनापुरको जयकिसान मावि नजिकै रहेको आँप बगैचामा जम्मा गरेर राखिएको छ । उनीहरुलाई कहाँ लैजाने भन्ने हालसम्म कुनै निर्णय नआएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म ठोस निर्णय नहुँदा स्वास्थ्यकर्मीसमेत अलमलमा परेका छन् । १७ घण्टासम्म संक्रमित र अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रास बढेको छ ।

सोमबार नै नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरिए पनि प्राविधिक कारणले सम्भव नभएपछि अहिले लायन्स डेण्टल अस्पताल र कृषि विकास बैंकका तालिम केन्द्रमा राख्ने तयारी गरेको बाँकेका सहायक प्रमूख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १५:१८