काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमै अप्ठ्यारो महसुस गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उभिन अप्ठ्यारो भयो भनेका थिए । दुई महिनाको अन्तरालमा एपेन्डिसाइटिस शल्यक्रिया र मिर्गौला प्रत्यारोपण गरेका ओलीले खुट्टामा समस्या भएको बताएका थिए ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधनका क्रममा उभिएर बोल्न गाह्रो भएपछि संसद्को रोष्ट्रममा प्रधामनन्त्री केपी शर्मा ओलीलाई बस्ने कुर्सीको व्यवस्था गरिएको छ । सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सम्बोधन गर्दै गर्दा ओलीलाई समस्या भएको हो ।
‘सभामुख महोदय मलाई उभिएर बोल्न गाह्रो भयो,’ ओलीले भने । त्यसलगत्तै सभामुख अग्नि सापकोटाले महासचिवलाई रुलिङ गरेपछि मर्यादा पालकहरूले बसेर बोल्ने बन्दोबस्त मिलाइदिएका थिए । संसद्का सहयोगीहरूले कुर्सी ल्याइदिएपछि ओलीले बसेर सम्बोधन गरिरहेका छन् । ‘सभामुखज्यूलाई बीचमा डिस्ट्रब गरेकोमा क्षमा चाहन्छु । अप्रेसनका कारण खुट्टामा समस्या भएका कारण उभिन गाह्रो भएको हो,’ ओलीले भने ।
सत्यपाटी ।