काठमाडौं । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.संगीता मिश्राले पुष्टि गरेकी छन् ।
उनका अनुसार झापाको कचनकवल गाउँपालिका थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८४ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ । जसमा सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने ती १० जना संक्रमित व्यक्ति केही दिन अघि भारतबाट लुकीछिपी आएका थिए । उनीहरुलाई दसगजाबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो ।
सत्यपाटी ।