सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित आँप बगैचामा !

बाँके । बाँकेमा सोमबार सोमबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो । यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङ्गस्थित बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभावमा उनीहरु १७ घण्टासम्म अन्य व्यक्तिसँगै क्वारेन्टाइनमै बस्न बाध्य भए ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनले चासो नदेखाउँदा त्राससँगै जोखिम बढेको छ । गाउँपालिकाको स्वास्थ्य टोलीले विहान नौं बजेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनबाट अलग गरेर आँप बगैचामा राखिएको छ ।

नरैनापुरको जसकिसान मावि नजिकै रहेको आँप बगैचामा जम्मा गरेर राखिएको नरैनापुरबाट पत्रकार विनय दिक्षितले जानकारी दिएका छन् । उनीहरुलाई कहाँ लैजाने भन्ने हालसम्म कुनै निर्णय नआएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म ठोस निर्णय नहुँदा स्वास्थ्यकर्मीसमेत अलमलमा परेका छन् ।

१७ घण्टासम्म संक्रमित र अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रास बढेको छ । ‘संक्रमण पुष्टि भएपछि तत्काल आइसोलेसनमा व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनको लाहपर्वाहीका कारण जोखिम बढ्यो,’ नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने ।

उनले सुरक्षाकर्मीकै भरमा सबै व्यवस्थापन छोडेर स्थानीय प्रशासनले ठूलो कमजोरी गरेको बताए । ‘अहिले क्वारेन्टाइनबाट अलग गरेर आँप बगैचामा राखिएको छ । यसले थप जोखिम बढाएको छ ।’ नरैनापुरका विभिन्न १३ वटा क्वारेन्टाइनमा ७१८ जनालाई राखिएको छ । ती सबै भारतबाट फर्किएका हुन् ।

संक्रमितहरुको अवस्थाका बारेमा जानकारी लिन खोज्दा जिल्ला स्वास्थ्य कार्यालयले कोरोना फोकल पर्सन भनेर तोकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको फोन पनि उठ्न छाडेको छ । कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठ्दैन । यसले पनि जिम्मेवार निकाय कति गैरजिम्मेवार बनेको छ भन्ने पुष्टि हुन्छ ।

त्यसो त नरैनापुरमा बनाइएका क्वारेन्टाइन अव्यवस्थित र भद्रगोल छन् । ती क्वारेन्टाइन संक्रमण फैलिन नदिनका लागि बनाइएको भन्दा संक्रमण फैलाउनका लागि बनाइएका सेल्टरजस्तै बनेका छन् । मृत्यु भएका एक जनासहित ६८ जनामा कोरोना पुष्टि भएपछि नरैनापुर कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ ।

पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरै जना भित्रिएका छन् । भारतबाट धेरै नेपालीहरु धमाधम घर फर्किएपछि कोरोना संक्रमणको ‘हटस्पट’ बनेको नरैनापुरमा मान्छे आउने क्रम अझै रोकिएको छैन । एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि गाउँपालिकाको अवस्था नै भयावह बनेको छ ।

स्थानीय प्रशासनको चरम लापरबाहीका कारण कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । बाँकेमा आइसोलेसन बेड नभएपछि कोरोना पोजेटिभ भेटिएका संक्रमितहरुलाई आँप बगेचामा सुरक्षाकर्मीको घेराभित्र राखिएको छ । नरैनापुरमा अझै पनि भारतबाट मजदुरी गरेर फर्किएकाहरु नेपाल–भारत सीमा नाकामा अलपत्र परेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार ११:४८