सूचनाको शक्ति - The Power Of Information

        

कोरोना ‘इपिसेन्टर’ नरैनापुर, ‘एकैदिन ४७ जनामा कोरोना संक्रमण देखियो’

बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई इपिसेन्टर बनाउँदै आज देशभर ५३ जना नयाँ कोरोना सक्रमित देखिएका छन् । क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको नैनापुरमा आज एकैदिन थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यस्तै मोरङमा एक जना पुरुष, गुल्मीका एक पुरुष र दाङ्ग, धनुषा, रौतहट र धादिङ एक/एक जना गरी चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै बाँकेमा संक्रमितको संख्या ८१ पुगेको छ भने नेपालभर संक्रमितको संख्या ३५७ पुगेको छ । जसमा २९८ जना पुरुष र ५९ जना महिला संक्रमित छन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको र ३६ जना उपचारपछि निको भएर घर फर्किसकेको पनि मन्त्रालयले जनाएको छ । संक्रमितहरु १८ देखि ४६ बर्ष उमेरसमूहका रहेका छन् । उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बाँकी ८१ जनाको स्वाब परिक्षण हुने क्रममा रहेको भेरी अस्पतालले जनाएको छ । कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो ।

एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई हटस्पट घोषित गरि थप सतर्कता अननाउन स्थानीयहरुले माग गरेका छन् । सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ । नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

यसअघि नरैनापुरका आठ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो । सदरमुकाम नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर–५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुईपटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो ।

मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयमै रहेको क्वारेन्टाइनमा राखिएका थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । हाल नरैनापुरका १३ वटा क्वारेन्टाइनमा ७७९ जनालाई राखिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १६:४०