सूचनाको शक्ति - The Power Of Information

        

भेरी बबईमा दुई अर्बको ठेक्का रद्द, चार बर्षभित्र निर्माण असम्भव

सुर्खेत । बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकल अन्तरगत ‘गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि गरिएको रु दुई अर्बको टेण्डर रद्द भएको हो । पाँचवटा कम्पनी प्रतिष्पर्धामा इच्छुक भए पनि बन्दाबन्दीका कारण काम हुने सम्भावना नदेखेपछि जलस्रोत तथा सिँचाइ विभागले उक्त टेण्डर रद्द गरेको जनाइएको छ ।

आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बन्दाबन्दीका कारण काम नहुने तर ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने भएकाले ठेक्का रद्द भएको जानकारी दिए । ‘अहिले सिभिल निर्माणको काम भइरहेको छ, हाइड्रोमेकानिकलको काम पनि सँगसँगै हुनुपर्ने हो,’ उनले भने, ‘बन्दाबन्दीले सिभिलको काम पनि सोचेजस्तो गतिमा हुन सकेको छैन, बर्खाअघि सक्नुपर्ने महत्वपूर्ण काम मात्र भइरहेको छ, बन्दाबन्दीले हाइड्रोमेकानिकलको कामलाई असर पार्ने देखियो ।’

सम्झौता हुँदा ठेकेदारले काम नभए पनि क्षतिपूर्ति दाबी गर्ने भएकाले राज्यलाई अनावश्यक आर्थिक दायित्व पर्न नदिन ठेक्का रद्द गरिएको उनको भनाइ छ । विसं २०७६ साउनदेखि आयोजनाको दोस्रो चरणका काम शुरु गरिएको थियो । दोस्रो चरण अन्तरगत हेडवक्र्स, सर्जसाफ्ट, पेनस्टक लगायत बाँध (ड्याम) र विद्युत् गृह (पावर हाउस) निर्माणका कार्यहरु पर्छन् । हाइड्रोमेकानिकल सम्बन्धी दुई ठूला ठेक्का रद्द भएपछि आयोजनाको काम लम्बिने भएको छ ।

सूचना अधिकारी उपाध्यायले ८–९ महिनादेखि तयारी गरिएको काम रद्द भएपछि निर्माण अवधि लम्बिने निश्चित भएको बताए । चार वर्षभित्र निर्माण पूरा गर्न आयोजना व्यवस्थापनलाई कठिन हुने उनले बताए । बाँधस्थलमा पुलसहितको ६ वटा गेट र पेनस्टक पाइप निर्माणका लागि गरिएको टेण्डर रद्द भएपछि पुनः लागत मूल्याङ्कन गरेर टेण्डर गर्न समय लाग्नेछ । आयोजनाका अनुसार हाइड्रोमेकानिकल अन्तरगत गेट, पेनस्टक पाइपको काम पर्छ ।

बाँध बनाइसकेपछि नदीको पानी खोल्न र बन्द गर्न गेटको प्रयोग गरिन्छ । सुरुङभित्र पानी पठाउन गेटको आवश्यकता पर्छ । सुरुङबाट बाहिर निस्केको पानीलाई फलामको पाइप (पेनस्टक) को सहायताले विद्युत् गृहसम्म लगेर टर्वाइनमार्फत बिजुली निकालिन्छ । पछिल्लो पटक उक्त कार्यका लागि बोलपत्र आह्वान गरिएको थियो । यद्यपि, जलस्रोत तथा सिँचाइ विभागले लकडाउनका कारणमात्र नभई सार्वजनिक खरिद ऐनको भावनाअनुसार प्रतिस्पर्धा हुन नसक्दा ठेक्का रद्द भएको बताएको छ ।

रु ३३ अर्ब १९ करोड लागतको यस बहुउद्देश्यीय आयोजनाको हालसम्म ३९.४ प्रतिशत भौतिक तथा ३१.६० प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धिमा पर्छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउनको नीति अपनाएसँगै आयोजनाको काम प्रभावित हुन नदिन केही सिभिल निर्माणका कार्य सञ्चालनमा छन् ।

सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले कोभिड–१९ विरुद्धको सावधानी अपनार्ई बर्खाअघि सम्पन्न गर्नुपर्ने केही महत्वपूर्ण कार्यलाई निरन्तरता दिएको छ । यस अन्तरगत नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) र सुरुङ फिनिसिङको काम भइरहेको छ । सरकारले ठूला आयोजनाको निर्माण कार्य जारी राख्न कामदारलाई क्लोज क्याम्पमै राख्नुपर्ने, एक मिटरको दूरी कायम गरी काममा लगाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्ने लगायतका निर्देशन दिएको छ । बाँधस्थल चिप्लेमा हाल १३० जना कामदार कार्यरत छन् ।

सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै बसोबासको व्यवस्था मिलाइएको छ । अमेरिकी कम्पनीले निर्माण गरेको चालकरहित अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेशिन (टिबिएम)को सहायताले २०७५ चैतमै १२ किमी २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको थियो । फिनिसिङ, बायो इञ्जिनीयरिङ लगायतका काम बाँकी रहेकाले निर्माण कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक)ले सिँचाइ विभागलाई सुरुङ हस्तान्तरण गरेको छैन ।

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्काअघि बढाउने सम्झौता भएको थियो । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन साथै प्रदेश नं ५ को बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ आयोजना निर्माण थालिएको हो । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १३:३२