सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट मृत्यु भएका युवकका बाआमाको पीडा, ‘टाढैबाट छोराको शव हेरेर आँशु बगाइरहे’

कोरोना संक्रमित युवकको मृत्युपछि घटनास्थल आसपास जम्मा भएका स्थानीयहरु । फाइल तस्वीर

कोरोना संक्रमित युवकको मृत्युपछि घटनास्थल आसपास जम्मा भएका स्थानीयहरु ।

बाँके । बिहानै गाउँमा हल्ला फैलियो, क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भयो । छिनभरमै हल्ला नयाँबस्तीमा पुग्यो । मृतक युवाको घर थियो, नयाँबस्ती । गाउँबाट मान्छे आउँदै गए । नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको दिपेन्द्र मावि, भोजभगवानपुरमा ठूलो संख्यामा मानिसहरु जम्मा भए । भीड नै लाग्यो ।

स्थानीयले उचित रेखदेख हुन नसकेकाले मृत्यु भएको गुनासो गरे । समयमा उपचार गर्न नलगिएको आक्रोश पोखिरहेका थिए । क्वारेन्टाइनमा बसिरहेका कतिपयले आफूहरुलाई केही नभएकाले घर जान दिन माग गरिरहेका थिए । ठूलो संख्यामा सुरक्षाकर्मी पुग्नुअघि क्वारेन्टाइनभित्र र बाहिर रहेका मानिसको आक्रोश ‘आन्दोलन’मा मोडिने खतरा बढेको थियो ।

आसपाससँगै नेपालगन्जबाट थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयहरु तितरबितर गरिएको थियो । कोरोनाको आशंका गरिएको, स्वाब लिइएको र रिपोर्ट आइनपुगेकाले स्कूल आसपासमा डरत्रास थियो । कोही नजिक जान सकेका थिएनन् । मृतकका बुवाआमा टाढैबाट छोराको शव हेर्दै रोइरहेका थिए ।

घटनास्थलमा पुगेका पत्रकार जे.पाण्डेका अनुसार, मृतकका बुवा छिनछिनमै बेहोस् भइरहेका थिए । आमा टाढै बसेर रोइरहेकी थिइन् । गाउँमा डरत्रासको वातावरण थियो । अपराह्न साढे चार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दा युवकमा पोजिटिभ देखियो । वातावरण झन् डरलाग्दो भयो । मृतकको शवलाई व्यवस्थापन गर्न नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।

बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले सुरक्षा निकायको व्यवस्थापनमा घरपरिवारको उपस्थितिमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिने बताए । ‘शवलाई घरमा लैजान पाइँदैन । सुरक्षा निकायको सबै व्यवस्था मिलाउँछ । घरपरिवारका सदस्यले अलिकति परैबाट आफ्नो संस्कार अनुसार अन्त्येष्टि गर्छन्,’ एसपी ओलीले आइतबार साँझ भने, ‘मृतकको आजै अन्त्येष्टि हुन्छ ।’ उक्त क्षेत्र नेपालगन्जदेखि करिब ३५ किलोमिटरको दूरीमा छ ।

जिल्लाको यो पूर्वी नाकाबाट केही दिनयतामा ६०० बढी मानिस भित्रिएका छन् । नरैनापुरमा यसअघि आठ जनामा कोरोना देखिसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टीमले मृतक युवासहित २६३ जनाको शनिबार मात्रै स्वाव लिएको थियो । स्वास्थ्य कार्यालयका अधिकृत एवं कोेरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २६३ मध्येमा दिपेन्द्र माविबाट मृतक युवासहित ३९ जनाको शव लिइएको थियो ।

स्वाब लिने बेलासम्म युवाको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए । एक्कासी राती वान्ता हुँदै उच्च ज्वरो आएपछि बेहोस् भएका थिए । त्यसपछि उनी उठेनन् । मृत्यु भएका युवामा कोरोना देखिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

सीमावर्ती जिल्ला भएकाले बाँकेमा उच्च जोखिम देखिएको छ । जिल्लामा अहिलेसम्म ३६ जनामा कोरोना देखिँदा एक जनाको मृत्यु भएको छ । पछिल्लो समयमा भारतबाट फर्किएका एक हजार १२६ जनाको कोरोना परीक्षण गर्ने क्रम चलिरहेको छ । भारतबाट अझै आउने क्रम भने रोकिएको छैन ।

 

 

#देश सञ्चारबाट

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार २०:२२