सूचनाको शक्ति - The Power Of Information

        

उच्चस्तरीय समितिको निष्कर्ष, ‘लकडाउन कायमै’

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृत्युसमेत हुन थालेपछि बढ्दै गएपछि लकडाउनलाई कायमै राखिने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिए । यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ ।

आइतबारको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ । सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिदै छ । सरकारले चैत ११ देखि लकडाउन लागू गरे पनि नेपालका कोरोनाको संक्रमण देखिने क्रम भने रोकिएको छैन ।

शनिबार मात्रै कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो भने आज आइतबार बाँकेको नरैनापुर गाउँपालिकास्थित दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षका युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

आइतबारसम्म नेपालमा कोरोना संक्रममितको संख्या २९२ पुगेको छ भने ३६ जना भने निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण बढेसँगै देशभर सुरक्षा सर्तकता बढाइएको उच्चस्तरीय समितिका प्रवक्ता विडारीले जानकारी दिए । क्वारेन्टाइनमै युवकको निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार १९:०४