सूचनाको शक्ति - The Power Of Information

        

युवकको निधनपछि नरैनापुर सिल, दाहसंस्कार गर्न पिपिई अभाव

बाँके । नरैनापुर गाउँपालिकास्थित दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षका युवाको निधन भयो । भारतको मुम्बईबाट घर फर्किएका ती युवकलाई वैशाख ३० गते क्वारेन्टाइनमा राखिएको थियो । शुक्रबार आठ जनामा कोरोना पोजेटिभ भेटिएपछि शनिबार उनीसहित २६३ जनाको स्वाब लिइयो ।

स्वाब परीक्षणको रिपोर्ट नआउँदै उनको आइतबार पौने ७ बजे निधन भयो । निधनपछि मृत्युको कारण पुष्टि गर्न तत्काल उनको स्वाब परीक्षण गरियो । स्वाब परीक्षणको रिपोर्ट आइतबार दिउँसो मात्रै आयो । रिपोर्ट आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ रहेको पुष्टि गर्यो ।

नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो । राती ३ बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो । मृतकको शव अहिले पनि क्वारेन्टाइन स्थलमै राखिएको छ । शवको नजिक कोही गएका छैनन् । आफन्तहरु टाढाबाट शवलाई हेरेर बसिरहेका छन् ।

‘जिल्ला स्वास्थ्य कार्यालय बाँकेले शनिबार नरैनापुरबाट २६३ जनाको स्वाब लिँदा ती युवाको पनि लिइएको थियो । अरु नमूनाको जाँच भइरहेको छ । मृतकको चाँडै रिपोर्ट सार्वजनिक गर्नुपर्ने भएकोले परीक्षण गर्यौं,’ भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले भने, ‘रिपोर्ट पोजेटिभ आयो ।’

ती युवकको मृत्युसँगै पर्याप्त व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) अभावमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरोकारवाला आफैं कोरोना संक्रमितको जोखिममा देखिएका छन् । आवश्यकताअनुसार पिपिई व्यवस्थापन हुन नसक्दा विरामी उपचार र स्वाव संकलनमा खटिएका स्वास्थ्यकर्मी त्रसित अवस्थामै काम गर्न बाध्य छन् ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले रिपोर्ट पोजेटिभ आएपछि उनको दाहसंस्कारका लागि चाहिने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) गाउँपालिकासँग नभएको बताए । ‘गाउँपालिकासँग पाँच वटा पिपिई छ,’ उनले भने, ‘यसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र मृतकका आफन्तलाई पुग्ने अवस्था छैन ।’

बाँकेमा पिपिईको अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफैँ असुरक्षित हुनुपर्ने अवस्थामा छ । बाँकेमा कोरोना संक्रमणका विरामी बढिरहेका छन् । विरामीको सिधा सम्पर्कमा पुग्ने स्वास्थ्यकर्मीका लागि मात्रै नभएर सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई पर्याप्त पिपिई नभएको गुनासो आइरहेको छ ।

जिल्लामै कोरोनाको संक्रमित र आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिने पिपिई अभाव देखिएको छ । जसका कारण स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण सक्ने जोखिम बढेको छ । मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा अभाव रहेको स्वास्थ्यकमीहरु बताउँछन् ।

कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका आइसोलेसन वार्डमा समेत उपचार गर्नका लागि अनिवार्य मानिएको पिपिईको अभाव देखिएको छ । बाँकेको नेपालगन्जमा रहेको प्रमुख सरकारी अस्पतालमा पनि पिपिई अभाव हुन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कतिपयले गाउँपालिकाले भने मागेर चलाएका छन् ।

कति पालिकाले जसोतसो पिपिई जोहो गरिरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका बाहेकका कोहलपुर नगरपालिका र ६ वटै गाउँपालिकामा आवश्कताअनुसार पिपिई अभाव छ । बजारमा पिपिई पाइने भए पनि खरिद गर्न कसैले चासो नदेखाएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द बताउँछन् ।

भेरी अस्पताल नेपालगन्जमा भने केही दिनका लागि पिपिई स्टक रहेको अस्पतालका निमित्त मेसु डा.थापा बताउँछन् । ‘पर्याप्त मात्रामा त होइन अहिलेलाई काम चलाउ पिपिई छ,’ उनले भने, ‘विरामीको चाप बढेसँगै पिपिई माग गरेका छौं ।’ उनका अनुसार बाँकेका सबै स्थानीय तहले पिपिई खरीद गरेर तयारी अवस्थामा बस्नुपर्छ ।

प्रत्यक्ष विरामीको सम्पर्कमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि आवश्यकताअनुसार स्थानीय तहले पिपिई उपलब्ध गराउनुपर्ने निमित्त मेसु डा.थापा बताउँछन् । उनले भने, ‘स्थानीय तहले पिपिई समयमै खरीद गरेर नराखे स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जोखिममा पर्नेछन् ।’

नरैनापुरस्थित क्वारेन्टाइनमै कोरोना संक्रमणका कारण युवकको निधन भएको पुष्टि भएसँगै बाँकेबासी त्रसित बनेका छन् । नरैनापुरमा रहेका ११ वटा क्वारेन्टाइनमा ६२५ जनालाई राखिएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा सुरक्षा सर्तकता बढाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

निधन भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । सदरमुकाम नेपालगन्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएको छ ।

क्वारेन्टाइनमा निधन भएकासँगै अन्य ३८ जनालाई राखिएको थियो । प्रजिअ खड्काका अनुसार कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले निधनको कारण पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताए । बाँकेमा नेपालगन्ज वडा नं ७ का एक, वडा नं. ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना सङ्क्रमित छन् । तीमध्ये २५ को बाँकेको खजुरा र आठ जनाको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार १८:४८