सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट बाँकेमा युवकको मृत्यु, मृतकको संख्या दुई पुग्यो

बाँके । बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।

यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण निधन भएको थियो । वैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए ।

बिहान ६ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो । राती तीन बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि उनको मृत्यु भएको थियो । मृतकको शव अहिले पनि स्कुलमै राखिएको छ । शवको नजिक कोही गएका छैनन् । आफन्तहरु टाढाबाट शवलाई हेरेर बसेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नरैनापुरबाट २६३ जनाको स्वाब लिँदा ती युवाको पनि लिइएको थियो । अरु स्याम्पलको जाँच भइरहेको छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.प्रकाशबहादुर थापाले मृतकमा कोरोना देखिएको बताए ।

‘नरैनापुरबाट २६३ स्वाब आएका थिए । अरुको परीक्षण हुँदैछ । मृतकको चाँडै रिपोर्ट सार्वजनिक गर्नुपर्ने भएकोले परीक्षण गर्यौँ,’ मेसु डा. थापाले भने, ‘मृतकमा कोरोना पोजिटिभ देखिएको छ ।’ नरैनापुरमा यसअघि आठ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

उनीहरुको सम्पर्कमा आएका २६३ जनाको स्वाब लिँदा मृतक युवा पनि परेका थिए । जिल्लाको पूर्वी गाउँपालिकामा पर्ने नरैनापुरमा अझै भारतबाट आउने क्रम रोकिएको छैन । त्यहाँ ११ वटा क्वारेन्टाइन बनाएर ६२५ जनालाई राखिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार १७:४३