सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुर क्वारेन्टाइनमा रहेका युवाको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँका अनुसार, क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको हो । गएराती ३ बजे एक्कासी वान्तासँगै ज्वरो आएपछि उनको पौने ७ बजे मृत्यु भएको जनाइएको छ ।

वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनको मृत्युको कारण भने खुल्न नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिनुभयो । ‘हिजोमात्रै ती युवासहित २६३ जनाको स्वाव लिइएको छ । रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि मृत्युको कारण थाहा होला,’ उनले भने ।

मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ । नरैनापुरका स्वास्थ्य शाखाका प्रमुख खाँले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको बताउनुभयो । छलफलका लागि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको छ ।

नरैनापुर गाउँपालिका रहेका ११ वटा क्वारेन्टाइनमा ६२६ जनालाई राखिएको छ । क्वारेन्टाइनमा रहेका सबै भारतबाट फर्किएका हुन् । नरैनापुरमा यसअघि भारतबाटै आएका आठ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । संक्रमित आठ जनालाई दाङ्गस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा राखिएका छ ।

संक्रमित आठ जनाको सम्पर्कमा रहेका झण्डै ३०० मध्येमा २६३ जनाको शनिबार स्वाव लिइएको छ । स्वाब लिइएकाहरुमध्ये केहीको सम्भवतः आजै रिपोर्ट आउनेछ । भने अझै धेरै व्यक्तिको स्वाव लिन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतवार १३:००