जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको नेपाली सेनाका मध्यपृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सील गरिएको छ । सेनाका पृतनापतिमा संक्रमण देखिएका कारण बर्दिबाँसको किसान नगरमा लगभग २ हजार सेना भएको व्यारेकलाई सील गरिएको हो ।
पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेनाहरु रहेका छन् ।
त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवतजावतमा रोक लगाइनुका साथै सामाजिक दूरी कायम राख्नका लागि भनिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले संक्रमित दुवैजनालाई उपचारका लागि काठमाडौँ पठाई सकिएको बताएका छन् ।
संक्रमित दुवैलाई उचारका लागि सेनाकै गाडीमा शनिबार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा पठाइएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए । संक्रमित दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आएका थिए । अहिले कन्ट्याक्ट ट्रेसिंगको काम भइरहेको छ ।
सत्यपाटी ।